११ कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, निर्वाचनको तयारी र पार्टी एकता मुख्य एजेन्डा

१० कात्तिक, काठमाडौँ । नेकपा (एमाले)ले आगामी मङ्सिर २ र ३ गते आयोजना गर्ने राष्ट्रिय भेलाको तयारी तीव्र पारेको छ ।

भेलामा केन्द्रीय कमिटीदेखि पालिका कमिटीसम्म, विभिन्न तहका जनप्रतिनिधि, जनसंगठनसहित तीनहजार १६४ जनाको सहभागिता रहने छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा उपाध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यतामा दोस्रो बैठक सम्पन्न भएको छ ।

बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र जनजीविकाका सवालमा पार्टीपङ्क्तिमा एउटै बुझाइ र लय विकास गर्नु भेलाको मुख्य उद्देश्य रहेको बताए ।

उपाध्यक्ष पौडेलले केन्द्रीय कमिटीको तेस्रो बैठकका निर्णयका आधारमा पार्टीलाई एकताबद्ध बनाउँदै नेता तथा कार्यकर्तालाई उत्साहित र सक्रिय बनाउन राष्ट्रिय भेलाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न पनि भेलाले पार्टीपङ्क्तिलाई प्रेरित गर्ने उनको भनाइ थियो ।

उपाध्यक्ष पौडेलले स्थानीय तहको निर्वाचनमा एमालेले आफ्नो प्रभाव र सामथ्र्य प्रदर्शन गर्नुपर्नेमा जोड दिए । २०८२ सालको निर्वाचनको परिणामलाई क्षणिक र अस्थायी धक्काका रूपमा पार्टीले लिएको उल्लेख गर्दै उनले एमालेलाई पुरानै राजनीतिक धारमा फर्काउनुपर्ने बताए । ‘सडकमा जानुपर्दा सडकको तयारी र निर्वाचनमा जानुपर्दा निर्वाचनकै तयारीका साथ अघि बढ्नुपर्छ,’ उपाध्यक्ष पौडेलले भने ।

बैठकमा महासचिव शंकर पोखरेलले राष्ट्रिय भेलालाई सफल बनाउन नेता तथा कार्यकर्तालाई सक्रियतापूर्वक परिचालित हुन आग्रह गरे । भेलाको सन्देश पार्टीपङ्क्ति र जनस्तरसम्म पुर्याउन व्यापक प्रचारप्रसारमा जुट्न पनि उनले आग्रह गरे ।

बैठकको अध्यक्षता गरेका पार्टी सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले भेलाको तयारीका क्रममा अहिलेसम्म भएका कामबारे जानकारी गराए । उनका अनुसार भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश तथा जिल्ला कमिटी, पालिका कमिटी, विभिन्न तहका जनप्रतिनिधि र जनसंगठनसहित कुल ३ हजार १६४ जना सहभागी हुनेछन् ।

पार्टीले राष्ट्रिय भेलालाई पार्टीको आन्तरिक एकता सुदृढ गर्ने, संगठनलाई थप सक्रिय बनाउने तथा आगामी निर्वाचन र राजनीतिक गतिविधिका लागि नेता तथा कार्यकर्तालाई एकताबद्ध रूपमा परिचालित गर्ने अवसरका रूपमा लिएको छ ।

बैठकमा पार्टीका उपाध्यक्ष रघुजी पन्त, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमाल, विभिन्न विभाग प्रमुखहरू, जनसंगठन इन्चार्ज केन्द्रीय कमिटीका सदस्यहरू लगायत नेताहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : October 27, 2026 at 5:56 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/