अर्थमन्त्री वाग्लेको भनाइमा ज्ञवालीको टिप्पणीः समस्यालाई गुन्द्रीमुनि लुकाएर सम्बन्ध बलियो हुँदैन
९ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। अर्थमन्त्री वाग्लेले नयाँदिल्लीमा गएर ‘नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोड्ने युग सकिएको’ बताएपछि उक्त अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको छ।
ज्ञवालीले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वाग्लेको अभिव्यक्तिलाई गैरकूटनीतिक र नेपालको स्वाभिमानमा आँच पुर्याउने खालको भनेका छन्। उनले नेपालमा कहिल्यै ‘भारतविरोधी राष्ट्रवादको युग’ नभएको जनाएका छन् ।

‘नेपालले जहिल्यै सार्वभौम समानता र पारस्परिक हित एवं सम्मानमा उभिएको मित्रतापूर्ण सम्बन्ध चाह्यो र आज पनि त्यही चाहन्छ,’ उनले लेखेका छन्, ‘कुनै व्यक्ति या समूह विशेषले राख्ने दृष्टिकोण आफैमा कुनै युग होइन। त्यसले समग्र राष्ट्रको प्रतिनिधित्व पनि गर्दैन।’
उनले अर्थमन्त्री वाग्लेलाई कुन युगको कुरा गरेको ? भन्दै सोधेका छन्। विदेशी भूमि सरकारी पदाधिकारीले आफ्नो मुलुकको राजनीतिका आन्तरिक मतभिन्नताबारे बोल्ने थलो नभएको पनि ज्ञवालीले बताएका छन्।
नेपाल र भारतबीच समाधान गर्नुपर्ने विभिन्न विषय रहेको उल्लेख गर्दै उनले तिनमा खुलस्त छलफल गर्नुपर्ने बताएका छन्। उनले सीमा समस्या, सन् १९५० को सन्धिका कतिपय प्रावधान, भारतीय बजारमा नेपाली उत्पादनको पहुँचमा अवरोध र बढ्दो व्यापार घाटाको विषय उठाएका छन्। सन्धिका कतिपय प्रावधानले सुरक्षा छाताको आभास दिने र भारतको अनुदार वाणिज्य नीतिका कारण नेपाली उत्पादनले बजार प्रवेशमा झन्झट व्यहोर्नुपरेको उनको भनाइ छ।
सीमामा एकतर्फी रूपमा बनाइएका बाँधका कारण नेपाली भूमि बर्सेनि डुबानमा पर्ने र नेपाललाई वैकल्पिक हवाई प्रवेशमार्ग दिन आनाकानी गरिएको विषय पनि उनले उल्लेख गरेका छन्।
‘घनिष्ठ छिमेकी मित्रसँग यी विषयमा खुलस्त कुरा हुनु आवश्यक छ। समस्यालाई गुन्द्रीमुनि लुकाएर सम्बन्ध बलियो हुँदैन,’ उनले लेखेका छन्, ‘यी विषयहरू उठाउनु कुनै देशविशेषको विरोध होइन। यो नेपालको राष्ट्रिय हितको प्रश्न हो।’

प्रकाशित मिति : October 26, 2026 at 12:42 pm










