राजकीय सम्मानका साथ पूर्वमन्त्री अधिकारीको अन्त्येष्टि, ३ छोरीले दिए दागबत्ति
१९ फागुन, काठमाडौँ । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अधिकारीलाई उनका ३ छोरीले दागबत्ति दिएका छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले अन्त्येष्टिअघि राष्ट्रिय झण्डा ओढाएका थिए ।
अधिकारीको पार्थिव शरीरलाई अन्त्येष्टिअघि नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा अन्तिम श्रद्धाञ्जली दिइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएर नेता अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । ८२ वर्षीय अधिकारीको शनिबार राति ह्याम्स हस्पिटलमा उपचारका क्रममा निधन भएको थियो ।

मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा अर्थमन्त्री बनेका अधिकारी वृद्धभत्ता र आफ्नो गाउँ आफैं बनाऔं जस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए । दिवंगत नेता अधिकारीका श्रीमती र तीन छोरी छन् ।


प्रकाशित मिति : 15:18







