विदेशी विनिमय सञ्चिति ४० खर्ब ६५ अर्ब रुपैयाँ पुग्यो, २०.९ महिनाको वस्तु आयात धान्न पर्याप्त
२९ असोज, काठमाडौं । नेपालको कुल विदेशी विनिमय सञ्चिति चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा ४.३ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको सञ्चिति भदौ मसान्तमा बढेर ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको हो। अमेरिकी डलरमा सञ्चिति ४.६ प्रतिशतले वृद्धि भई २६ अर्ब ४८ करोड पुगेको छ।
कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ४ प्रतिशतले बढेर ३६ खर्ब १० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति ७.२ प्रतिशतले वृद्धि भई ४ खर्ब ५५ अर्ब १ करोड रुपैयाँ कायम भएको छ। भदौ मसान्तको कुल सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१.३ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २०.९ महिनाको वस्तु आयात र १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ।
२०८३ भदौ मसान्तमा विदेशी विनिमय सञ्चिति र कुल गार्हस्थ्य उत्पादनको अनुपात ६१.६ प्रतिशत पुगेको छ। असार मसान्तमा यस्तो अनुपात ५९.१ प्रतिशत थियो। त्यस्तै, कुल आयातसँगको अनुपात १६३.४ प्रतिशतबाट घटेर १४८.५ प्रतिशत कायम भएको छ भने विस्तृत मुद्राप्रदायसँगको अनुपात ४३.८ प्रतिशतबाट बढेर ४४.९ प्रतिशत पुगेको छ।
प्रकाशित मिति : October 15, 2026 at 3:02 pm








