एनआईसी एशिया क्यापिटलद्वारा पोखरामा पूँजीबजार साक्षरता कार्यक्रम
२३ असोज, काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले ‘विश्व लगानीकर्ता सप्ताह, २०२६’ को अवसरमा पोखरामा मुद्रा बजार तथा पूँजीबजार साक्षरता कार्यक्रम आयोजना गरेको छ। क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा–३०, तालचोक, कास्कीस्थित त्रिवेणी इन्टरनेशनल कलेजमा असोज २३ गते शुक्रबार उक्त कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत दामोदर रायमाझीले ‘विश्व लगानीकर्ता सप्ताह, २०२६’ का मुख्य विषय ‘Investor Resilience, Digital Deception and Scam Alert’ तथा पूरक विषय ‘Basics of Investing and Young Investor & Next Generation’ मा केन्द्रित रहेर प्रशिक्षण दिएका थिए।
‘Invest in Your Future, Protect it Today’ भन्ने नारासहित आयोजित कार्यक्रममा विद्यार्थी जीवनदेखि नै कसरी बचत गर्ने र स–सानो रकमलाई समेत सहज रूपमा कहाँ र कसरी लगानी गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिइएको क्यापिटलले जनाएको छ।

रायमाझीले धितोपत्रको प्राथमिक तथा दोस्रो बजार, मुद्रा बजारका उपकरण, सामूहिक लगानी कोष, एसआईपीलगायतका लगानीका माध्यम तथा प्रक्रिया सम्बन्धमा सहभागीलाई जानकारी दिएका थिए। त्यस्तै, दोस्रो बजारमा सूचीकृत कम्पनीमा लगानीको निर्णय गर्दा ध्यान दिनुपर्ने विषय, जोखिम व्यवस्थापन तथा समग्र पूँजीबजारको पछिल्लो अवस्थाबारे पनि कार्यक्रममा जानकारी गराइएको थियो।
कार्यक्रमको अन्त्यमा सहभागी विद्यार्थी तथा प्राध्यापकसँग मुद्रा बजारका उपकरण, पूँजीबजारको वर्तमान अवस्था र लगानी गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो।कार्यक्रममा १०० जनाभन्दा बढी युवा विद्यार्थी, प्राध्यापक तथा कलेजमा कार्यरत कर्मचारीको सहभागिता रहेको क्यापिटलले जनाएको छ।
प्रकाशित मिति : October 9, 2026 at 12:52 pm






