भोटेकोशी बाढी पीडितलाई कुमारी बैंकका कर्मचारीको ४५ लाख ९७ हजारकाे सहयाेग
२३ असोज, काठमाडौं । रसुवा–त्रिशूली–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै कुमारी बैंक लिमिटेडका कर्मचारीहरूले स्वेच्छिक रुपमा तलबबाट कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४५ लाख ९७ हजार ३५३ रुपैयाँ योगदान गरेका छन् ।
प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेका प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै बैंकका कर्मचारीहरूले स्वेच्छिक रूपमा उक्त रकम संकलन गरेका हुन् । संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत राहत, उद्धार तथा पुनःस्थापनाका कार्यक्रमहरूमा उपयोग हुने विश्वास लिइएको छ ।

कुमारी बैंकले सदैव सामाजिक उत्तरदायित्वलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्दै विपद्का समयमा प्रभावित समुदायको साथमा उभिने परम्परा कायम राखेको छ । कर्मचारीहरूको यो योगदानले मानवीय संवेदना, सामाजिक एकता तथा राष्ट्रप्रतिको उत्तरदायित्वलाई थप मजबुत बनाएको बैंकको विश्वास रहेको छ ।
यसअघि पनि कुमारी बैंकले त्रिशूली–भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार, पुनःस्थापना तथा पुनःनिर्माण कार्यमा सहयोग पु¥याउने उद्देश्यले रु. ३ करोड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको थियो ।
साथै, उक्त बाढीबाट प्रभावितहरुको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन गृह मन्त्रालयलाई ३९ लाख बराबरको अत्याधुनिक ड्रोन, पावर बैंक तथा जेनेरेटरलगायत आवश्यक विपद् व्यवस्थापन सामग्रीहरु उपलब्ध गराई सहयोग गरेको थियो ।
प्रकाशित मिति : October 9, 2026 at 11:21 am






