अब बैंकबाटै सेयर किनबेच र बिमा सेवा, डा. सञ्जय आचार्यको नेतृत्वमा समिति गठन
२२ असोज, काठमाडौं । सरकारले बैंकका शाखाहरूमार्फत नै बिमा, सेयर पोर्टफोलियो व्यवस्थापन र ब्रोकरेज सेवा प्रवाह गर्ने सम्भाव्यताबारे अध्ययन गर्न एक विज्ञ समिति गठन गरेको छ । अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगका पूर्वसल्लाहकार डा. सञ्जय आचार्यको संयोजकत्वमा उक्त समिति गठन गरेको हो ।
मन्त्रिपरिषद्बाट स्वीकृत पाँचवर्षे ‘वित्तीय क्षेत्र विकास रणनीति’ का आधारमा अर्थमन्त्रीस्तरीय निर्णयबाट यो समिति गठन गरिएको हो । अर्थमन्त्रीको नेतृत्वमा बस्ने वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकमा अर्थमन्त्रीले उक्त जानकारी गराएका हुन् ।
देशभर बैंकका शाखा सञ्जाल विस्तार भए पनि बिमा र धितोपत्रसम्बन्धी सेवाहरू अझै ग्रामीण भेगसम्म पुग्न सकेका छैनन्। ग्रामीण क्षेत्रमा छुट्टै ब्रोकर र बिमा कार्यालय खोल्न लागत तथा संरचनागत हिसाबले सम्भव नभएपछि बैंकमार्फत नै ‘एकद्वार वित्तीय सेवा’ उपलब्ध गराउने अवधारणा अघि सारिएको हो।

विशेषगरी ग्रामीण भेगका सर्वसाधारणलाई सेयर बजारसम्बन्धी प्राविधिक ज्ञान नहुने र अनलाइन कारोबार प्रणाली (टीएमएस) चलाउन कठिन हुने समस्या छ। त्यसैले बैंकमै उपलब्ध विज्ञ टोलीमार्फत ग्राहकको पोर्टफोलियो व्यवस्थापन गराउने, ‘बैंकास्योरेन्स’ पुनः ब्युँताउने र ब्रोकरेज सेवा उपलब्ध गराउने मोडलमाथि समितिले विस्तृत अध्ययन गर्नेछ। यसबाट बैंकमा न्यून ब्याजदरमा निक्षेप थन्क्याउन बाध्य ग्राहकले सेयर बजारबाट थप प्रतिफल लिन सक्ने अपेक्षा गरिएको छ।
डा. सञ्जय आचार्य संयोजक रहेको यस समितिमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र समन्वय महाशाखाका सहसचिव महेश आचार्य, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल तथा विज्ञ सदस्यका रूपमा मौसमी श्रेष्ठसहितका प्रतिनिधिहरू रहेका छन् । समितिको पहिलो बैठक गत साउन २७ गते सम्पन्न भइसकेको छ ।
प्रकाशित मिति : October 8, 2026 at 4:23 pm






