२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

पहिलो जननिर्वाचित कम्युनिष्ट सरकारका अर्थमन्त्री अधिकारीको निधनले उपप्रधानमन्त्री पोखरेल स्तब्ध

१९ फागुन, काठमाडाैँ । पहिलो जननिर्वाचित कम्युनिष्ट सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीको निधनले नेपाल कम्युनिष्ट पार्टी शोकमा डुबेको छ । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल शोक व्यक्तव्य मार्फत अधिकारीको निधनमा दुःख प्रकट गरेका छन ।

भरतमहोन अधिकारीले नेतृत्व गरेको मनमोहन स्मृति प्रतिष्ठानको सचिव तथा  मनमोहन पोलिटेक्निकका उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री पोखरेलले शनिबार राति नै शोक वक्तव्य जारी गरी कम्युनिष्ट अान्दोलनले एउटा कुशल योद्धा गुमाएको उल्लेख गरेका छन । अधिकारीको योगदानको चर्चा गर्दै उपप्रधानमन्त्री पोखरेलले श्रद्धाञ्जली कार्यक्रमा सहभागिताका लागि अपिल समेत गरेका छन ।

यस्तो छ पोखरेलको शोक वक्तव्य

शोक वक्तव्य
मनमोहन स्मृति प्रतिष्ठान र मनमोहन पोलिटेक्निकका अध्यक्ष तथा नेपाली कम्युनिष्ट आन्दोलनका अविश्रान्त योद्धा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का आदरणीय नेता भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा आज फागुन १८ गते राती ९ः३५ बजे दुःखद निधन भएकोमा हामी स्तब्ध र दुःखित भएका छौं ।

नेकपा (एमाले)का तत्कालिन अध्यक्ष तथा प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको निधनपश्चात पार्टी केन्द्रीय कमिटीद्धारा गठित मनमोहन स्मृति प्रतिष्ठानको अध्यक्षका रूपमा २०५६ सालयता उहाँले निरन्तर नेतृत्व प्रदान गर्दै आउनुभएको थियो । प्रतिष्ठानले मोरङको हात्तिमुढामा मनमोहन पोलिटेक्निक स्थापना र संचालनको नेतृत्व गरिरहेको छ, जो नेपालकै उत्कृष्ट पोलिटेक्निकहरूको पंक्तिमा स्थापित रहेको छ । प्रतिष्ठानको व्यवस्थित सु–संचालन एवम् पोलिटेक्निकको संस्थागत आधार निर्माण र नमुना ढंगले संचालनमा उहाँले महत्वपूर्ण र गतिशील नेतृत्व गर्नुभएको थियो ।

वि.सं. १९९३ साल बैशाख २२ गते महोत्तरीको भमरपुरामा पिता रामचन्द्र अधिकारी र माता पूर्णकुमारी देवीका कान्छा सुपुत्रका रूपमा जन्मनुभएका उहाँ सन् १९५२ मा भारतीय कम्युनिष्ट पार्टीमा आबद्ध हँुदै अविभाजित कालदेखि नै नेपाल कम्युनिष्ट पार्टीमा निरन्तर सक्रिय हुनुहुन्थ्यो । पूर्व कोशी प्रान्तीय कमिटी, नेकपाको तेस्रो राष्ट्रिय महाधिवेशन, केन्द्रीय न्युक्लियस गठन र नेकपा (मनमोहन समूह) हुँदै उहाँ नेकपा (माक्र्सवादी)को उच्च नेतृत्वमा रही निर्दलीय पञ्चायती व्यवस्था विरूद्धको आन्दोलनमा क्रियाशील रहनुभयो । उहाँ विराटनगरमा स्थापित कानुन व्यवसायीका रूपमा समेत सक्रिय हुनुहुन्थ्यो । अर्थशास्त्रमा स्नातकोत्तर उहाँ बौद्धिक राजनीतिज्ञ हुनुहुन्थ्यो ।
नेपालको संविधान २०४७ को मस्यौदा गर्न र नेकपा (माले) र नेकपा (माक्र्सवादी)बीच पार्टी एकता सम्पन्न गर्न उहाँको महत्वपूर्ण योगदान रहेको थियो ।

२०५१ मा मनमोहन अधिकारीको प्रधानमन्त्रित्वमा गठित पहिलो जननिर्वाचित कम्युनिष्ट सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले प्रस्तुत गर्नुभएको बजेटमा सर्वप्रथम ‘ज्येष्ठ नागरिक भत्ता’, ‘आफ्नो गाउँ आफै बनाऔं’ कार्यक्रम, ‘नौ स’ अभियान जस्ता जनप्रिय र लोककल्याणकारी कार्यक्रम थालनी गरिएको थियो । खासमा बजेटप्रति सर्वसाधारण जनताको चासो र सरोकार सिर्जना गर्ने काम त्यसैबेलादेखि आरम्भ भएको थियो । दुई पटक उपप्रधानमन्त्री समेत रहिसक्नुभएका उहाँले चार पटक अर्थ मन्त्रालयसहित अन्य विभिन्न मन्त्रालयहरूको पनि जिम्मेवारी सम्हाल्नुभएको थियो ।

निरन्तर सक्रिय, विनम्र र मिलनसार व्यक्तित्वका रूपमा परिचित उहाँले आफ्नो करिब सात दशक लामो राजनीतिक जीवन कम्युनिष्ट आन्दोलनको विकास, विस्तार र अग्रगतिमा व्यतीत गर्नुभयो । नेपाली जनताका प्रिय नेता र जनप्रिय अर्थमन्त्रीका रूपमा उहाँको योगदान चीरकालसम्म स्मरणीय रहनेछ ।

उहाँका योगदानहरूको सम्मान गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा उहाँको पार्थिव शरीर भोलि फागुन १९ गते विहान ९ः०० बजे देखि अन्तिम श्रद्धाञ्जलीका निम्ति राख्ने व्यवस्था मिलाएको छ । प्रतिष्ठान र पोलिटेक्निक सम्बद्ध सबै महानुभावहरू तथा उहाँका सम्पूर्ण समर्थक र शुभेच्छुकहरूलाई अन्तिम श्रद्धाञ्जलीमा सहभागी हुन हार्दिक अनुरोध गर्दछौं । हामी श्रद्धेय नेता भरतमोहन अधिकारीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । उहाँकी श्रीमती सविता अधिकारी र तीन छोरीहरू लुना, लिमा र लिजा लगायत शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।

– ईश्वर पोखरेल
उपप्रधानमन्त्री तथा रक्षामन्त्री
सचिव, मनमोहन स्मृति प्रतिष्ठान
उपाध्यक्ष, मनमोहन पोलिटेक्निक
(१८ फागुन, २०७५

प्रकाशित मिति : 07:50