एनआईसी एशिया इक्विटी अपर्च्युनिटी फण्डको इकाई बाँडफाँड सम्पन्न
२२ असोज, काठमाडौं। एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित छैटौं म्युचुअल फण्ड योजना ‘एनआईसी एशिया इक्विटी अपर्च्युनिटी फण्ड’को इकाई बाँडफाँड सम्पन्न भएको छ । फण्डले प्रति इकाई १० रुपैयाँ अंकित मूल्यका कुल ८ करोड इकाई निष्काशन गरेको थियो । जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड २० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकका लागि सुरक्षित गरिएको थियो भने बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारणका लागि निष्काशन गरिएको थियो ।
असोज ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरिएको उक्त फण्डमा माग भन्दा बढी आवेदन परेका कारण असोज १३ गते नै निष्काशन तथा बिक्री बन्द गरिएको थियो । उक्त निष्काशनको अवधिमा ४१ हजार १८९ जना आवेदकहरूबाट कुल ८ अर्ब ७४ करोड ४४ लाख २ सय इकाईका लागि आवेदन प्राप्त भएको थियो, जुन माग गरिएको भन्दा करिब १.२९ गुणा बढी हो ।

अन्तिम रीतपूर्वक प्राप्त आवेदनहरूमध्ये ४७ जनाको आवेदन रद्द गरी बाँकी ४१हजार १४३ जना आवेदकहरूबाट १ अर्ब २ करोड ४३ लाख ७९ हजार रुपैयाँ बराबरको इकाईका लागि आवेदन प्राप्त भएको थियो ।
धितोपत्र बोर्डको स्वीकृत विवरण पत्रमा मागभन्दा बढी आवेदन परेमा कुल आकारको २५ प्रतिशतसम्म थप गरी बाँडफाँड गर्न सकिने व्यवस्था बमोजिम, फण्डको आकार ८० करोड रुपैयाँबाट वृद्धि गरी १ अर्ब रुपैयाँ कायम गरिएको छ ।
योजना अनुसार, १०० देखि ३० लाख इकाईसम्म माग गर्ने आवेदकहरूलाई माग बमोजिम र ४० लाखदेखि ५० लाख इकाईसम्म माग गर्ने आवेदकहरूलाई ३८ लाख ९० हजार ५२५ इकाईका दरले बाँडफाँड गरिएको छ । बाँडफाँडको नतिजा एनआईसी एशिया क्यापिटलको वेबसाइट वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइटमार्फत हेर्न सकिने जनाइएको छ ।
प्रकाशित मिति : October 8, 2026 at 12:28 pm






