लक्ष्मीसनराइज बैंकका चार कर्मचारीविरूद्ध पक्राउ पुर्जी
१७ असोज, काठमाडाैँ । अञ्जली इन्टरनेशनलका प्रोप्राइटर निर्मला देवीको जाहेरीमा दायर भएको ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतले लक्ष्मीसनराइज बैंकका चार जना कर्मचारीविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जी जारी हुनेमा पूर्व र वर्तमान कर्मचारी रहेका छन । बैंकका कर्मचारीविरुद्ध पक्राउ पुर्जी तामेल गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्राचार गरेको छ।
यो पनि पढ्नुहोस्
लक्ष्मी सनराइज बैंकको धन्दा : कर्जा प्रवाहको नाममा सम्पत्ति कब्जा
पर्सा जिल्ला अदालतले यही असोज २ गते नै जिल्ला प्रहरी कार्यालय, पर्सालाई पठाएको पत्रमा मुद्दाका अनुपस्थित प्रतिवादीहरूको नाममा जारी भएको पक्राउ पुर्जी तामेल गरी अदालतमा तामेली प्रतिवेदन पठाउन भनिएको छ।
अदालतको पत्रअनुसार पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूमा लक्ष्मी सनराइज बैंक लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, तत्कालीन नायब प्रबन्धक केदार सिंह, वरिष्ठ अधिकृत सुबोध जोशी र प्रमुख कर्जा प्रशासनअन्तर्गत कार्यरत नायब प्रबन्धक रविन्द्र केसी रहेका छन् ।
अदालतले उनीहरूको नाममा सात दिने तथा ३५ दिने पक्राउ पुर्जी जारी भएको उल्लेख गर्दै सोको तामेलीका लागि प्रहरीलाई पठाएको हो।

अदालतको पत्रमा अञ्जली इन्टरनेशनलका प्रोप्राइटर निर्मला देवीको जाहेरीका आधारमा नेपाल सरकार वादी तथा सुबोध जोशीसमेत प्रतिवादी रहेको ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसूरको मुद्दा रहेको उल्लेख छ।
पर्सा जिल्ला अदालतले अनुपस्थित प्रतिवादीहरूको नाममा जारी पक्राउ पुर्जी तामेल गरी त्यसको प्रमाणसहितको प्रतिलिपि अदालतमा पठाउन जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरेको छ।

प्रकाशित मिति : October 3, 2026 at 8:30 am






