लाभांश पारित गर्दै ग्लोबल आइएमई बैंकको २०औं साधारण सभा सम्पन्न
१६ असोज, काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाण्डौको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। प्रस्तावित लाभांशमध्ये ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको छ।
साधारण सभाले सञ्चालक समितिका तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरणसमेत पारित गरेको छ। समीक्षा अवधिमा बैंकले ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशतले बढी हो। बैंकको सञ्चालन मुनाफा ९ अर्ब ६० करोड रुपैयाँ रहेको छ।
४ प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी बढेर ३९ अर्ब ६८ करोड ६० लाख रुपैयाँ पुग्ने भएको छ। साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सेयरधनीको निरन्तर विश्वास र सहयोगका कारण बैंकले दुई दशकको यात्रा सफलतापूर्वक पूरा गर्न सकेको बताए। उनले ग्राहक, शेयरधनी, नियामक निकाय तथा अन्य सरोकारवालाको सहयोगले बैंकलाई हालको अवस्थामा पुर्याएको उल्लेख गर्दै नेपाल सरकार र नेपाल राष्ट्र बैंकका नीति तथा निर्देशनको पालना गर्दै बैंकलाई थप सुरक्षित, भरपर्दो र सन्तुलित रूपमा विस्तार गरिने बताए।

ढकालले ग्राहकलाई सहज र आधुनिक बैंकिङ सेवा दिन डिजिटल बैंकिङ प्रणालीमा थप लगानी विस्तार गर्ने योजनासमेत सुनाए। सभाले आवश्यकता अनुसार बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि पारित गरेको छ। त्यस्तै, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्नेसम्बन्धी प्रस्तावसमेत अनुमोदन भएको बैंकले जनाएको छ।
ग्लोबल आइएमई बैंकले हाल मुलुकका सबै ७७ जिल्लामा आफ्नो बैंकिङ सञ्जाल विस्तार गरिसकेको छ। बैंकका अनुसार हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशस्थित तीन प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रवाह भइरहेको छ।
प्रकाशित मिति : October 2, 2026 at 2:28 pm






