२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

दार्चुला जीप दुर्घटना अपडेटः मृतकको संख्या ११ पुग्यो, मृत्यु हुनेमा ७ महिला, ३ पुरूष र १ बालिका

१७ फागुन, काठमाडाैँ । दार्चुला तिङ्कर सडक खण्डअन्तर्गत राताकाठा भीरमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार मृत्यु हुनेमा सात महिला, तीन पुरुष र एक बालिका रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन । सदरमुकाम खलङ्गाबाट हिकिला गइरहेको म १ ज २८० नंको जीप महाकाली नदीमा खसेको हो ।

जीप चालक दीपकसिंह धामी घाइते भएका छन् । उनलाई  थप उपचारका लागि भारत पठाइएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दले बताएका छन ।

राति ८ बजे जीप दुर्घटना भएको स्थानीयवासी हिक्मतबहादुर वमले बताउनुभयो । चार दिनअघि सोही क्षेत्रमा पहिरोमा परी एक जनाको ज्यान गएको थियो । पहिरो गएको क्षेत्रबाटै जीप दुर्घटना भएको हो । जीप झण्डै ५०० मिटर तल महाकाली नदीमा खसेको छ । घटनास्थल सदरमुकाम खलङ्गाबाट सात किलोमिटर उत्तरमा पर्छ ।

प्रकाशित मिति : 23:06