रास्वपालाई सांसद राईको आग्रहः आफ्नै सरकार नढाल्नुहोला
१६ असोज, काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नै सरकार ढल्ने अवस्था आउन नदिन सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद राईले आगामी अधिवेशनमा पछिल्लो अधिवेशन जसरी हेलचेक्र्याँइ नगर्न सरकारलाई सुझाव दिएका हुन्।
‘दुःखका साथ भन्छु, फेरि तीन महिनापछि भेट होस्। आफ्नै सरकार नढाल्नुहोला।अहिलेसम्म हाम्रा मागहरूलाई जसरी अपमान गरियो अब सुरू हुने अधिवेशनमा त्यस्तो माग राख्ने वातावरण नबनोस्। हामी त्यसरी अगाडि बढ्नुपर्ने अवस्था नआओस्,’ उनले भने।

सांसद ध्रुव राईले प्रतिपक्षी दलका माग र जनताका समस्याप्रति सरकार गम्भीर नभएको आरोप लगाएका छन्। सांसद राईले प्रतिपक्षी दलहरूले जनताका सरोकारका धेरै विषय र प्रश्नहरू संसद्मा उठाउँदा पनि सरकारले त्यसलाई बेवास्ता गरेको भन्दै गुनासो गरे। उनले भने, ‘हामीले जनताका धेरै प्रश्नहरू उठाएका थियौँ, तर ती प्रश्नहरूको जवाफ पाउन सकिएन। यो अधिवेशन पनि कर्मकाण्डी जस्तै भयो।’
सांसद राईले विगतमा जनताले विश्वास गरेर पठाएका राजनीतिक दलहरू अहिले जनताको चाहना विपरीत हिँडेको टिप्पणी गरे। उनले भने, ‘सरकार प्रमुखले जिम्मेवार ढङ्गले प्रस्तुत हुनुको साटो प्रतिपक्षी दलहरूको जित र आवाजलाई सम्मान गर्न सकेनन्। कसैको दुई मत छैन, सबै सांसद ज्यूहरू यहाँ एक से एक हुनुहुन्छ, तर सरकारले विपक्षीको आवाजलाई सुन्नसमेत चाहेन।’
उनले सरकारको यस्तै गतिविधि चलिरहे गत भदौ २३ र २४ को आन्दोलन दोहोरिनसक्ने चिन्ता व्यक्त गरे। उनले भने, ‘मलाई त डर लागिरहेको छ, हिजो २३ र २४ को आन्दोलनतिर पुरानो दल भनिएको नेताहरूका गतिविधिको कारणले भ्रष्टाचार गर्यो, धेरै पैसा कमायो भनेर घरहरू जलेको थियो। अब हामीले हाम्रो घरहरू जोगाउन निकै मुस्किल पर्ला कि ! अहिलेसम्मको अधिवेशनको गतिविधिहरूमा मलाई त्यो लागिरहेको छ।’
प्रकाशित मिति : October 2, 2026 at 12:28 pm






