एमबीएल इक्विटी फन्डले गर्यो ८ प्रतिशत नगद लाभांश वितरण
१६ असोज, काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेड कोष प्रवर्द्धक तथा माछापुच्छ्रे क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको माछापुच्छ्रे सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित बन्दमुखी योजना एमबीएल इक्विटी फन्डले आर्थिक वर्ष २०८२/८३ का लागि इकाइधनीहरूलाई करसहित ८ प्रतिशतका दरले प्रतिफल (नगद लाभांश) वितरण गरेको छ।
योजनाको प्रतिफल वितरण प्रयोजनका लागि इकाइधनी दर्ता पुस्तिकामा २०८३ भदौ १ गतेसम्म कायम इकाइधनीहरूको हितग्राही खातामा उल्लेख गरिएको बैंक खातामा नगद प्रतिफल जम्मा गरिएको हो। कम्पनीका अनुसार उक्त प्रतिफल २०८३ भदौ १८ गतेदेखि सम्बन्धित बैंक खातामा जम्मा गरिएको छ। त्यसैले इकाइधनीहरूले आफ्नो बैंक खातामा प्रतिफल प्राप्त भए–नभएको यकिन गर्न आग्रह गरिएको छ।
हालसम्म आफ्नो हितग्राही खातामा बैंक तथा वित्तीय संस्थाको बैंक खाता अद्यावधिक नगराएका तथा हितग्राही खातामा उल्लेखित बैंक खाता बैंक तथा वित्तीय संस्था मर्ज भएका कारण परिवर्तन भएका इकाइधनीहरूले आफ्नो हितग्राही खाता रहेको सम्बन्धित निक्षेप सदस्यलाई सम्पर्क गर्नुपर्नेछ। उनीहरूले हितग्राही खातामा बैंक खाता अद्यावधिक गरी योजना व्यवस्थापकलाई जानकारी गराएर समयमै आफ्नो प्रतिफल (नगद लाभांश) संकलन गर्नुपर्ने कम्पनीले जनाएको छ।
त्यसैगरी, आफ्नो इकाइ धितो राखेका इकाइधनीहरूले प्रतिफल (नगद लाभांश) प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र माछापुच्छ्रे क्यापिटल लिमिटेडमा पेस गर्न समेत अनुरोध गरिएको छ।
प्रकाशित मिति : October 2, 2026 at 9:07 am






