एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्डमा आवेदन दिने आज अन्तिम दिन
१३ असोज, काठमाडौँ । एनआईसी एशिया क्यापिटलले निष्कासन गरेको ‘एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्ड’खरिदका लागि आज आवेदन दिने अन्तिम दिन रहेको छ। क्यापिटलका अनुसार ‘एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्ड’खरिद गर्न इच्छुकले आज साँझसम्म आवेदन दिन सक्नेछन्। आज बैंकिङ समय सकिएपछि आवेदन बन्द हुने क्यापिटलले जनाएको छ।

क्यापिटलका अनुसार सोमबार साँझ ५ बजेसम्म ८० करोड रुपैयाँभन्दा बढीको इकाइ खरिदका लागि आवेदन प्राप्त भएको छ। क्यापिटलले प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यका ८ करोड इकाइ निष्कासन गरेको छ। यसअनुसार फन्डको प्रारम्भिक आकार ८० करोड रुपैयाँ हो। कुल इकाइमध्ये न्यूनतम १ करोड २० लाख इकाइ, अर्थात् १५ प्रतिशत, कोष प्रवर्द्धक एनआईसी एशिया बैंकका लागि सुरक्षित राखिएको छ। बाँकी ६ करोड ८० लाख इकाइमा सर्वसाधारण तथा संस्थाहरूले आवेदन दिन सक्नेछन्।
माग प्रारम्भिक निष्कासन रकमभन्दा बढी पुगे पनि स्वीकृत विवरणपत्रमा फन्डको आकार ८० करोडबाट बढाएर अधिकतम १ अर्ब रुपैयाँसम्म कायम गर्न सकिने व्यवस्था छ।यो १० वर्ष अवधि भएको बन्दमुखी म्युचुअल फन्ड हो। लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड इकाइसम्म आवेदन दिन सक्छन्। सीआस्बा सेवा उपलब्ध बैंक तथा वित्तीय संस्थाका शाखा वा ‘मेरो सेयर’मार्फत आवेदन दिन सकिनेछ।
प्रकाशित मिति : September 29, 2026 at 9:44 am




