दुई महिनामा वाणिज्य बैंकहरूबाट ६१ अर्ब कर्जा विस्तार, ग्लोबल आइएमई बैंक अग्रस्थानमा
८ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (साउन र भदौ) मा वाणिज्य बैंकहरूको कर्जा प्रवाहमा सुधार देखिएको छ । यस अवधिमा २० वटा वाणिज्य बैंकहरूले कुल ६० अर्ब ९७ करोड (करिब ६१ अर्ब) रुपैयाँ कर्जा विस्तार गरेका छन् ।
असार मसान्तसम्म वाणिज्य बैंकहरूको कुल कर्जा लगानी ५२ खर्ब ८९ अर्ब ६८ करोड रुपैयाँ रहेकोमा भदौ मसान्तसम्म आइपुग्दा बढेर ५३ खर्ब ५० अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्षको पहिलो महिना साउनमा बैंकहरूको कर्जा विस्तार केही सुस्त देखिएको थियो। असारको तुलनामा साउनमा कुल कर्जा १ अर्ब ७१ करोड रुपैयाँले घटेर ५२ खर्ब ८७ अर्ब ९७ करोड रुपैयाँमा झरेको थियो। तर, भदौ महिना सुरु भएसँगै कर्जाको मागमा तीव्र सुधार आएको तथ्यांकले देखाउँछ। भदौ महिनामा मात्रै वाणिज्य बैंकहरूले ६२ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी कर्जा बजारमा पठाएका छन्।
दुई महिनाको अवधिमा सबैभन्दा धेरै कर्जा विस्तार गर्नेमा ग्लोबल आईएमई बैंक शीर्ष स्थानमा रहेको छ। बैंकले २० अर्ब १ करोड रुपैयाँ बढाएको छ । बैंकको कुल कर्जा लगानी ४ खर्ब ९६ अर्ब ८५ करोड रुपैयाँ पुर्याएको छ।

त्यस्तै, दोस्रोमा एभरेष्ट बैंक रहेको छ। एभरेष्टले यस अवधिमा १२ अर्ब ८८ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ। तेस्रो स्थानमा रहेको लक्ष्मी सनराइज बैंकले १० अर्ब ३१ करोड रुपैयाँ थप कर्जा प्रवाह गरेको छ।यस अवधिमा कुमारी बैंकले ७ अर्ब ६५ करोड, नबिल बैंकले ७ अर्ब ६ करोड, सिद्धार्थ बैंकले ४ अर्ब ८० करोड, एनएमबि बैंकले ४ अर्ब २९ करोड र माछापुच्छ्रे बैंकले ४ अर्ब ७४ करोड रुपैयाँ कर्जा बढाएका छन्।
समग्र बैंकिङ प्रणालीको कर्जा विस्तार सकारात्मक देखिए पनि ८ वटा बैंकको कर्जा प्रवाह भने घटेको छ। याे अवधिमा एनआईसी एशिया बैंककाे सबैभन्दा धेरै कर्जा घटेकाे छ। दुई महिनामा बैंकको कर्जा लगानी ६ अर्ब ६९ करोड रुपैयाँले घटेर २ खर्ब ४ अर्ब ४४ करोड रुपैयाँमा झरेको छ।
त्यस्तै, सानिमा बैंकको ३ अर्ब ४६ करोड, राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब १ करोड, प्रभु बैंकको २ अर्ब ७९ करोड र प्राइम कमर्सियल बैंकको १ अर्ब ४१ करोड रुपैयाँ कर्जा घटेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ५३ करोड, हिमालयन बैंक ३१ करोड र स्ट्यान्डर्ड चार्टर्ड बैंकको पनि २ करोड रुपैयाँले कर्जा घटेको छ ।
प्रकाशित मिति : September 24, 2026 at 10:47 am




