५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

प्रभु बैंकको प्रवासी नेपालीलक्षित घर कर्जा, ३ करोडसम्म ऋण

५ असोज, काठमाडौं । प्रभु बैंक लिमिटेडले विदेशमा काम गरिरहेका तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना २०८३/८४’ सार्वजनिक गरेको छ ।योजनामार्फत प्रवासी नेपालीलाई घर तथा जग्गा खरिदका लागि सहज, प्रतिस्पर्धी र सुविधाजनक कर्जा सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ ।

योजनाअन्तर्गत घर कर्जाका लागि अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ । कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ भने सेवा शुल्क ०.५० प्रतिशत र ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरिएको बैंकले जनाएको छ ।

यो सुविधा देशभरका ३०० वटा शाखामार्फत उपलब्ध हुने बैंकले जनाएको छ । योजनाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत र जग्गा खरिदका लागि कर्जा लिन सकिनेछ । त्यस्तै, बढीमा दुई जना सन्तानका लागि नेपाल वा विदेशमा अध्ययन गर्न औसत आधार दरमा थप १.५ प्रतिशत प्रतिवर्ष ब्याजदरमा शैक्षिक कर्जा सुविधा उपलब्ध गराइनेछ । शैक्षिक कर्जाको प्रशासनिक शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

dainiki.com

योजनाअन्तर्गत पहिलो वर्ष डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा निःशुल्क उपलब्ध गराइनेछ । बैंकका अनुसार नेपालको अर्थतन्त्रमा विप्रेषणको महत्त्वपूर्ण योगदान रहँदै आएको छ । प्रवासी नेपालीबाट प्राप्त विप्रेषणलाई बैंकिङ प्रणालीमार्फत प्रभावकारी रूपमा परिचालन गर्दै उनीहरूको दीर्घकालीन वित्तीय आवश्यकता पूरा गर्ने उद्देश्यले योजना ल्याइएको हो ।

योजनाले विदेशमा कार्यरत तथा बसोबास गर्ने नेपालीलाई आफ्नो र परिवारको भविष्यका लागि आवासीय सम्पत्ति निर्माण तथा खरिद गर्न आवश्यक वित्तीय सहयोग उपलब्ध गराउने बैंकको अपेक्षा छ । साथै, विप्रेषणलाई औपचारिक बैंकिङ माध्यमबाट परिचालन गर्दै निक्षेप अभिवृद्धि, उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह तथा दीर्घकालीन ग्राहक सम्बन्ध विस्तारमा योगदान पुग्ने बैंकले जनाएको छ।

प्रकाशित मिति : September 21, 2026 at 4:32 pm