आज सेयर बजार नखुल्ने, यस्तो छ कारण
५ असोज, काठमाडौं । सोमबार सेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइटमा रहेको बिदाको सूचीमा यस दिन ‘आकस्मिक बजार बन्द’ दिइएको छ। नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डाटा सेन्टर डाटा हब प्रालिमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएको थियो । समस्या समाधानका लागि पहल भइरहेको भए पनि हालसम्म समाधान हुन नसकेको नेप्सेले जनाएको छ ।

यस्तो अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएपछि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले आजको कारोबार स्थगित गर्न निवेदन दिएको थियो । सोही आधारमा नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार आज असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको हो ।
प्रकाशित मिति : September 21, 2026 at 11:23 am




