४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

एडिलेडमा ईन्द्रजात्रा मनाईदै, काठमाडौंमय बन्दै, तयारी भव्य

अष्ट्रेलिया । अष्ट्रेलियाको एडिलेडमा सेप्टेम्वर २६ शनिवार   येँयाः पुन्ही अर्थात ईन्द्रजात्रा मनाईने भएको छ ।

इन्द्र जात्रा अर्थात येँयाः पुन्ही विगत २०१६ देखि एडिलेडमा आयोजना हुदै आएको छ । इन्द्र जात्रा भाद्र शुक्लपक्ष द्वादशी (यँलाथ्व द्वादशी)  देखी आश्विन कृष्णपक्ष चौथी(यँलागाः चौथी) सम्म एक हप्ता मनाइने गरिन्छ ।

गुठी साउथ अष्ट्रेलियाका अध्यक्ष गौरव राजकर्णिकारले नेपाली कला, संस्कृति र मौलिक परम्पराको संरक्षण एवम् प्रवर्द्धन गर्ने उद्देश्यका साथ जात्रा आयोजना गरिएको बताउनु भयो । उहाले जात्राको मुख्य आकर्षण कुमारी जात्रा, लाखे, पुलुकिसि, धिमे बाजा, सम्य ब:जि, कुमारी नृत्य, मञ्जुश्री नृत्य प्रस्तुत हुने बताउनुभयो ।

गुठी सचिव सजिन प्रधानाङ्गले जात्रा स्थानिय क्लोभेली पार्कस्थित ‘कसग्रोभ हल’ (Cosgrove Hall, 40-50 York Ave, Clovelly Park) मा दिउँसो १:०० बजेदेखि साँझ ७:०० बजेसम्म सञ्चालन हुने जनाउनु भएको छ ।

प्रवासमा जात्राको महत्वमा प्रकाश पार्दै सचिव प्रधानाङ्गले प्रवासमा नेपाली धर्म, संस्कृति र पहिचानलाई जिवन्त राख्न र गैर्ह नेपालीहरुलाई चिनाउन आयोजना गरिएको बताउनुभयो। ।

उहाँले नेपालका अनमोल प्राचीन सम्पत्तिको रूपमा रहेका सांस्कृतिक सम्पदाहरूलाई विश्वमाझ चिनाउँदै लैजानुका साथै रीतिरिवाज, कला संस्कृतिलाई साउथ अष्ट्रेलियाबासिहरु बिच चिनाउने प्रयास स्वरूप ईन्द्रजात्राको आयोजना गरेको बताउनु भयो । उनले यस्ता जात्रा पर्वहरुले प्रवासमा हुर्किदै गरेको दोस्रो पुस्ताले समेत आफ्नो संस्कृतिको बारेमा सिक्ने मौका पाउनेमा बताउनुभयो।

सचिव प्रधाननाङ्गले बहुसांस्कृतिक देश अष्ट्रेलियामा सबैका परम्परालाई उच्च सम्मानका साथ हेरिन्छ बताउदै नेपाली समुदायले पनि नेपाली परम्पराको परिचय पहिला आफ्नै बालबालिकाहरुबाट शुरु गर्नु पर्ने बताए 

प्रवेश नि शुल्क रहेको जात्रा यस बर्ष दिनको १.०० बजेबाट शुरु हुने भएको छ ।  विगत बर्षहरुमा नेपाली समुदाय बाहेक पनि ठुलो मात्रामा गैर्ह नेपालीहरु पनि सहभागी भएकाले यस बर्ष पनि सहभागीता राम्रो हुने अपेक्षा गरिएको सचिव प्रधानाङ्गले बताए ।

किम्बदन्ती अनुसार अनुसार स्वर्गका राजा इन्द्र आफ्नी आमा वसुन्धराको व्रत पूरा गर्नका लागि आवश्यक पारिजातको फूल टिप्न पृथ्वीमा आएका थिए । पारिजातको फूल खोज्दै इन्द्र हालको भीमसेनस्थानभन्दा तल रहेको एउटा बँगैचामा पुगे । बहुमूल्यको पारिजातको फूल अनुमति विनै टिप्न खोजेपछि मालीले तान्त्रिक विधिमार्फत् इन्द्रलाई समातेर राजा समक्ष पेश गरे । उनलाई सबैले देख्ने चोकमा एउटा लिंगोमा बाँधेर राखिएको थियो । देवताका राजा इन्द्रले पृथ्वीवासीबाट सजाय पाइरहेका थिए ।

लामो समयसम्म फूल लिन गएको छोरा नफर्किएपछि आमा वसुन्धराले ऐेरावत हात्तीलाई छोरा खोज्न पठाइन् । इन्द्रलाई खोज्न आएको हात्तीले भिडको बीचमा अफ्ट्यारोमा परेका इन्द्रलाई भेट्यो । पछि वसुन्धरा पनि बहुलाको भेषमा आफ्नो छोरा खोज्दै आइन् र छोरालाई बाधेर राखेको देखिन् । काठमाडौं वासीको माग बमोजिम धानबाली समयमै पाक्ने बनाइदिने र मरेकालाई स्वर्ग लैजाने बाचा गरेर इन्द्रलाई छुटाएको र आमा छोरा थानकोटमा रहेको इन्द्रदहमा नुहाएर स्वर्ग गए भन्ने भनाइ छ । बसुन्धराको बाचा अनुसार त्यसपछि काठमाडौंका खेतीबारी राम्रो हुन थाले भने मरेकाहरू पनि स्वर्ग जान थाले भन्ने विश्वास छ । रथजात्राको पहिलो दिन दागिं निकाल्ने परम्परा छ । दागिं निकालिसकेपछि दिवंगतहरू स्वर्ग जान्छन् भन्ने बिश्वास रहेको छ ।

फाइल तस्विरहरु

प्रकाशित मिति : September 20, 2026 at 11:09 am