लाभांश प्रस्ताव पारित गर्न माछापुच्छ्रे बैंकले बोलायो साधारणसभा
२ असोज, काठमाडौं । माछापुच्छ्रे बैंकले साधारणसभा आह्वान गरेको छ। असाेज २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले असोज २८ गते साधारणसभा बाेलाउने निर्णय गरेकाे हाे । सभा पोखराको पार्दीस्थित होटल पोखरा ग्रान्डमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको ३ प्रतिशतले हुन आउने ३६ करोड २५ लाख ८६ हजार ३४७ रुपैयाँ बराबरको बोनस सेयर र ३ प्रतिशतले हुन आउने ३६ करोड २५ लाख ८६ हजार ३४७ रुपैयाँबराबरको नगद लाभांश (करसहित) गरी कुल ६ प्रतिशत लाभांश पारित गर्नेछ।
यसैगरी सभाले गत आर्थिक वर्षका लागि अग्राधिकार शेयरधनीलाई ८.२५ प्रतिशतले हुन आउने ७ करोड ४५ लाख ८९ हजार ४१ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ। सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायबाट प्राप्त रायसुझाव वा निर्देशनबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

सभाले सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्नेछ। यसैगरी सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ।
लाभांश तथा सभा प्रयोजनार्थ बैंकले असोज १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसकाे अर्थ असोज ११ गतेसम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनीहरुले मात्रै बैंकको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन्।
प्रकाशित मिति : September 20, 2026 at 9:31 am




