२ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026

साउनमै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स, २१.२ प्रतिशत वृद्धि

२ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै नेपालमा २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन महिनामा विप्रेषण आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१.२ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले बढेको थियो।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.२ प्रतिशतले वृद्धि भई १ अर्ब ४० करोड डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह २५ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर २ खर्ब २९ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ खर्ब ९३ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो।

dainiki.com

 यसैगरी, साउन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४२ हजार ६९३ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४४ हजार ४६६ थियो। पुनः श्रम स्वीकृति लिनेको संख्या भने बढेको छ। समीक्षा अवधिमा २७ हजार ७४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन्, जबकि अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २३ हजार ६४४ थियो।

प्रकाशित मिति : September 18, 2026 at 5:20 pm