बाढीपहिरो पीडितलाई शाओमी नेपालको सहयोग: २०० परिवारलाई घरायसी राहत सामग्री हस्तान्तरण
३१ भदौ, काठमाडौं । बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले शाओमी नेपालले २०० सेट आवश्यक घरायसी सामग्री सहयोग गरेको छ। ‘शाओमी फर कम्युनिटी’ अन्तर्गत २०० वटा राहत सामग्रीका सेट काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई हस्तान्तरण गरिएको छ ।
हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको दैनिक जीवनमा केही सहजता ल्याउने उद्देश्यले शाओमी नेपालले राहतस्वरूप आवश्यक भान्साका सामग्रीसहितका २०० सेट सहयोग गरेको हो । प्रत्येक राहत सेटमा १ वटा प्रेसर कुकर, १ वटा कराइ, ५ वटा प्लेट, ५ वटा चम्चा, ६ वटा कप, ५ वटा कचौरा र १ वटा थर्मस बोतल समावेश गरिएको छ । यसरी २०० सेटमार्फत बाढीपहिरो प्रभावित परिवारका लागि दैनिक खाना पकाउन तथा खानपिनका लागि आवश्यक घरायसी सामग्री उपलब्ध गराइएको छ ।
कुल २०० सेटमा २०० वटा प्रेसर कुकर, २०० वटा कराइ, १,००० वटा प्लेट, १,००० वटा चम्चा, १,२०० वटा कप, १,००० वटा बाउल र २०० वटा थर्मस बोतल रहेका छन् । ‘दैनिक जीवनको पुनर्निर्माणमा सहयोगी हात’ भन्ने भावनाका साथ गरिएको यस सहयोगले बाढीपहिरोबाट प्रभावित परिवारलाई पुनः सामान्य जीवनतर्फ फर्किने क्रममा केही राहत र सहजता प्रदान गर्ने विश्वास शाओमी नेपालले लिएको छ ।
शाओमी नेपालले यसअघि पनि भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको थियो । पछिल्लो राहत सामग्री वितरणसँगै शाओमी नेपालले बाढीपहिरोबाट प्रभावित समुदायको तत्कालीन आवश्यकतामा सहयोग पुयाउने प्रयासलाई निरन्तरता दिएको हो ।
विपद्को कठिन परिस्थितिमा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै शाओमी नेपालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत राहत, उद्धार तथा पुनः स्थापनाका प्रयासमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ ।
प्रकाशित मिति : September 16, 2026 at 4:38 pm


