असोज महिनाका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति ?
३१ भदाै, काठमाडाैं । वाणिज्य बैंकहरूले आगामी असोज महिना लागि आफ्नो नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। असोज महिनाका लागि २० वटा वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर ०.०४६५ प्रतिशतविन्दुले घटेर ४.०८९५ प्रतिशतमा झरेको छ। त्यसैगरी, संस्थागत निक्षेपको औसत ब्याजदर पनि ०.०१४५ प्रतिशतविन्दुले घटेर ३.०६६५ प्रतिशत कायम भएको छ।
असोज महिनामा एभरेष्ट बैंकले ब्याजदरमा सबैभन्दा बढी कटौती गरेको छ। जसअनुसार बैंकले व्यक्तिगत निक्षेपको दरमा ०.५५ प्रतिशतविन्दुले घटाउँदै ३.५ प्रतिशत र संस्थागततर्फ ०.२५ प्रतिशतविन्दुले घटाएर ३.२५ प्रतिशत कायम गरेको छ।
त्यसैगरी, नबिल बैंकले पनि व्यक्तिगत निक्षेपतर्फको ब्याजदर ०.३ प्रतिशतविन्दुले घटाएर ४.२५ प्रतिशत बनाएको छ भने संस्थागत दरलाई ३.०१ प्रतिशतमै यथावत राखेको छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगतमा ०.०५ प्रतिशतविन्दु घटाएर ३.७५ प्रतिशत र कुमारी बैंकले ०.०३ प्रतिशतविन्दु घटाएर ३.७३ प्रतिशत बनाएका छन् भने सिटिजन्स बैंकले संस्थागत ब्याजदर ०.२५ प्रतिशतविन्दुले घटाएर २.७५ प्रतिशतमा झारेको छ।
साथै, सानिमा बैंकले संस्थागत निक्षेपको ब्याजदर ०.२१ प्रतिशतविन्दुले बढाएर ३.५१ प्रतिशत पुऱ्याएको छ भने व्यक्तिगततर्फ ४.५ प्रतिशतकै दरलाई निरन्तरता दिएको छ। प्रभु बैंकले अधिकतम ४.५५ प्रतिशत व्यक्तिगत ब्याजदर कायम गरेकाे छ। माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकसहित कुल १५ वटा बैंकहरूले भने असोज महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदरमा कुनै परिवर्तन नगरी भदाै महिनाकै दरलाई निरन्तरता दिएका छन्।
प्रकाशित मिति : September 16, 2026 at 10:41 am


