३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

मानवताको सन्देश मार्फत अस्ट्रेलियाका नेपालीहरुलाई मातृभुमी संग जोड्दै

एडिलेड — नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त बनाउने महाअभियानमा जुटिरहेको ‘मानवसेवा आश्रम’ले मानवताको सन्देश  मार्फत अस्ट्रेलियाका नेपालीहरुलाई मातृभुमी संग जोड्ने अभियान शुरु गरेको छ ।

यसै क्रममा अष्ट्रेलियाको एडिलेडमा विशेष मानवीय तथा उत्प्रेरणात्मक कार्यक्रम आयोजना गर्ने भएको छ।

‘मानवसेवा अष्ट्रेलिया एडिलेड’ र ‘नेपाली भजन कीर्तन समूह एडिलेड’ को संयुक्त आयोजनामा ‘कनेक्ट अष्ट्रेलिया थ्रु ह्युम्यानिटी’ (Connect Australia Through Humanity) अभियानअन्तर्गत आगामी सेप्टेम्बर १९, २०२६ (शनिबार) का दिन कार्यक्रम गर्ने भएको छ ।

नेपालमा सडकमा आश्रयविहीन तथा सहयोगापेक्षी जीवन बिताइरहेका नागरिकहरूको उद्धार, उपचार, संरक्षण र पारिवारिक पुनर्मिलनमा सक्रिय ‘मानवसेवा आश्रम’ ले अष्ट्रेलियाका एडिलेड सहित सात प्रमुख शहरहरूमा कार्यक्रम गर्ने भएको छ । आश्रमका संस्थापक तथा केन्द्रीय अध्यक्ष  रामजी अधिकारी, केन्द्रीय सदस्य निता केसी लगायतले मानवीय सेवा र करुणाको सन्देश दिने कार्यक्रम गर्न लागेको मानव सेवा आश्रम साउथ अष्ट्रेलियाका संयोजक अनुभव अधिकारीले बताउनुभयो।

स्थानिय  `क्लोभेली पार्क मेमोरियल कम्युनिटी हल’ मा साँझ  ५:०० बजेबाट कार्यक्रम शुरु हुने छ । कार्यक्रममा आश्रमका संस्थापक तथा केन्द्रीय अधिकारी, केन्द्रीय सदस्य केसी र सचिव निरज पटेलको उपस्थिति रहनेछ। कार्यक्रममा मानवता, करुणा, मातृभूमि र सेवा यात्राबारे विशेष प्रस्तुति तथा वृत्तचित्र प्रदर्शन गरिनेछ।

वि.सं. २०६९ भदौ १३ गते मकवानपुरको हेटौँडाबाट सेवा सुरु गरेको मानवसेवा आश्रमले हाल देशका सातै प्रदेशका २४ जिल्लामा ३५ वटा सेवा केन्द्रमार्फत सेवा सञ्चालन गरिरहेको छ।

नेपालका विभिन्न भागबाट १४ हजारभन्दा बढी सहयोगापेक्षी सडकआश्रित नागरिकको उद्धार गरी संरक्षण प्रदान गरिएको छ भने करिब ६ हजार जनालाई सम्मानपूर्वक पारिवारिक पुनर्मिलन गराइसकिएको छ।

अष्ट्रेलियामा रहेका नेपाली समुदाय, सामाजिक संघसंस्था, व्यवसायी, दाता तथा मानवताप्रेमीहरूलाई नेपालको मानवीय सेवासँग जोड्न यो अभियान सञ्चालन गरिएको साउथ अष्ट्रेलिया संयोजक अधिकारीले जानकारी दिनुभयो।

उहाँले सडकपेटी तथा सार्वजनिक स्थलमा कोही पनि बेवारिसे जीवन बिताउन नपरोस् भन्ने लक्ष्यका साथ अगाडि बढेको आश्रमले नेपाललाई ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ बनाउने राष्ट्रिय महाअभियानमा हातेमालो गर्न साउथ अष्ट्रेलियावासी नेपालीहरूमा हार्दिक अपिल गर्नु भएको छ ।

प्रकाशित मिति : September 15, 2026 at 4:22 pm