३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

घर अगाडिबाट अपहरणमा परेका १५ महिने बालकको ११ दिनपछि सकुशल उद्धार, एक महिला पक्राउ

३० भदाै, काठमाडाैं । धनुषामा घरै अगाडि खेलिरहेको अवस्थामा अपहरणमा परेका १५ महिने बालकको ११ दिनपछि उद्धार भएको छ। विदेह नगरपालिका-६, तीनकोरियाबाट घरै अगाडि खेलिरहेको अवस्थामा अपहरणमा परेका १५ महिनाका बालक सिधान्त महतोको ११ दिनपछि सकुशल उद्धार भएको हो।

बालकलाई सोमबार दिउँसो साढे ३ बजे घरबाट करिब ३ सय मिटर टाढाबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले जानकारी दिए। उनका अनुसार भदौ १८ गते दिउँसो साढे ४ बजेतिर कमलेश महतोका १५ महिनाका छोरा सिधान्त घरको आँगनमा खेलिरहेको अवस्थामा एकाएक बेपत्ता भएका थिए।

बालकको खोजीका लागि जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी उपरीक्षक रुपेश खड्काको कमान्डमा ६० जनाको प्रहरी टोली परिचालन गरिएको थियो । तालिमप्राप्त कुकुरको समेत सहयोगमा घटनास्थल र आसपासका क्षेत्रमा खोजतलास गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल तथा मधेश प्रदेश प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङको कमान्डमा खटिएको प्रादेशिक सूचना विश्लेषण तथा अनुसन्धान समूहको संयुक्त टोलीले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा बालकलाई कमला नगरपालिका–९ हथलेट्वाकी करिब ४१ वर्षीया पुनिता देवी पासवानले अपहरण गरेको खुलेको  डिएसपी खनालले बताए । ती महिलाले बालकलाई स्थान परिवर्तन गर्दै नेपाल तथा भारतका विभिन्न ठाउँमा लुकाएर राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो।

त्यसपछि धनुषाका सम्पूर्ण नाकामा २४ घण्टा प्रहरी परिचालन गर्नुका साथै प्राविधिक अनुसन्धानमार्फत उनको खोजी तीव्र पारिएको थियो । प्रहरीले घेराबन्दी गरेपछि भदौ २९ गते दिउँसो करिब ३:३५ बजे ती महिलाले बालकलाई उनको घरदेखि करिब ३०० मिटर दक्षिण सडकछेउमा छाडेर भागेकी थिइन् ।

बालकको तत्काल उद्धार गरी स्वास्थ्य परीक्षण गराइएको र स्वास्थ्य अवस्था सामान्य रहेकाले अभिभावकको जिम्मा लगाइसकिएको डिएसपी खनालले जानकारी दिए। बालकलाई छाडेर भारततर्फ भाग्दै गरेकी पासवानलाई सोही दिन दिउँसो ३:४५ बजे विदेह नगरपालिका-१, महिनाथपुरस्थित नेपाल-भारत सीमा (दशगजा क्षेत्र) बाट नियन्त्रणमा लिइएको हो। उनीविरुद्ध अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : September 15, 2026 at 1:32 pm