२६ भदौ २०८३, शुक्रबार | Fri Sep 11 2026

जागिरकाे खाेजीमा हुनुहुन्छ ? पर्यटन बोर्डमा सीईओको लागि आवेदन माग

२६ भदाै, काठमाडौं । नेपाल पर्यटन बोर्डले सीईओ पदका लागि दरखास्त आह्वान गरेको छ । बोर्डले आज (भदौ २६ गते) एक सूचना प्रकाशित गर्दै योग्य उम्मेदवारहरूबाट दरखास्त पेस गर्न आह्वान गरेको हो । उम्मेदवार हुनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी पर्यटन क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हुनुपर्ने र प्रचलित कानुन बमोजिम अयोग्य नभएको हुनुपर्ने योग्यता तोकिएको छ ।

दरखास्त दिन चाहनेहरूले तोकिएका शैक्षिक योग्यता र अनुभवका कागजातका साथै पर्यटन बोर्डको प्रभावकारिता बढाउने रणनीतिक कार्ययोजना (३ हजार शब्द नबढ्ने) र आफ्नो अनुभव तथा उपलब्धि झल्किने प्रतिवेदन (१ हजार शब्द नबढ्ने) पेस गर्नुपर्नेछ । साथै, आवेदन दस्तुरबापत १५ हजार रुपैयाँ नबिल बैंक लिमिटेड, तीनधारा शाखामा रहेको नेपाल पर्यटन बोर्डको खातामा जम्मा गरी सोको भौचर पनि संलग्न गर्नुपर्नेछ ।

dainiki.com

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको १० दिनभित्र आवेदन दिन सक्नेछन् । यदि आवेदन दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुलेको दिनसम्म दरखास्त दिन सकिने व्यवस्था गरिएको छ । आवेदनहरू कार्यकारी प्रमुखको सचिवालयमा बुझाउनुपर्नेछ ।

प्रकाशित मिति : September 11, 2026 at 10:51 am