२२ भदौ २०८३, सोमबार | Mon Sep 7 2026

सामाजिक सञ्जालमा फैलियो अफवाह, १७३ पोस्टमाथि कारबाही

२२ भदौ, काठमाडौं ।  नेपाल प्रहरीले सामाजिक सञ्जालमा फैलाइएका १ सय ७३ वटा भ्रामक सूचना तथा अफवाहमाथि कारबाही प्रक्रिया अघि बढाएको छ । समाजमा त्रास सिर्जना गर्ने, विभाजन ल्याउने तथा उत्तेजक अभिव्यक्ति दिने खालका सामग्रीमाथि प्रहरीले निगरानी बढाएको हो ।

पछिल्लो समयमा सामाजिक सञ्जाल मार्फत गलत सूचना, अफवाह, भ्रामक समाचार लगायतका सामग्री प्रशारण गर्ने, संवेदनशील घडीमा पीडामा रहेका मानिसहरूले व्यक्त गरेका विचारहरूमाथि अनावश्यक टिप्पणी गरी होच्याई थप पीडा दिन खोज्ने जस्ता घटनाहरूको निगरानी गरी त्यसलाई नियन्त्रण तथा संलग्नलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी निर्मम रूपमा प्रस्तुत भइरहेको छ ।

प्रहरीका अनुसार फेसबुकका १ सय ६८, टिकटकका ४ र इन्स्टाग्रामको १ वटा भ्रामक पोष्ट पहिचान गरी कारबाहीका लागि अघि बढाइएको छ । तीमध्ये फेसबुकका विभिन्न ७९ वटा पोष्ट हटाइएको छ भने टिकटकबाट ४ वटा सामग्रीसमेत हटाइएको प्रहरीले जनाएको छ ।

यस प्रकारका घटनाहरूको सामाजिक सञ्जालमा मोनिटरिङ गरी उक्त सामाग्री तत्कालै हटाउन र त्यस्ता गतिविधिलाई रोक्न साइबर ब्यूरोका प्रहरी नायव उपरीक्षक गजेन्द्र आचार्यको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरी यस सम्बन्धमा प्रभावकारी रूपमा कार्य समेत भइरहेको छ । समितिले सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने कार्यमा संलग्न उपर अनुसन्धान एवम् पहिचान समेत गरी सम्बन्धित प्रहरी कार्यालय वा सरोकारवाला निकायसँग समन्वय, सहकार्य गरी कानुनी कारबाही गर्नेछ ।

प्रकाशित मिति : September 7, 2026 at 4:55 pm