मनास्लु र लार्केपास पदमार्गमा यात्रा नगर्न प्रशासनको आग्रह
२१ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्ग हुँदै यात्रा नगर्न आग्रह गरेको छ। आज आइतबार सार्वजनिक सूचना जारी गर्दै यात्राको तयारी अवस्था वा यात्रामा रहेका पदयात्रीहरूले अर्को सूचना प्रकाशित नहुँदासम्म पदयात्रा नगर्न आग्रह गरेको हो ।
प्रशासनका अनुसार आइतबार बिहान करिब ३ः३० बजे चुमनुब्री गाउँपालिका–४, नामरुङस्थित थेराङ खोलामा बाढी आएको थियो। बाढीका कारण चुमनुब्री गाउँपालिका–४ र वडा नम्बर २ जोड्ने फलामे पुल तथा गाउँपालिकाबाट नामरुङ जंगलतर्फ जाने बूढीगण्डकी नदीमाथिको झोलुंगे पुलसमेत बगाएको छ। पुलहरू बगाएपछि मनास्लु तथा लार्केपास पदमार्गमा आवतजावत प्रभावित भएको भन्दै प्रशासनले पदयात्रा रोक्न आग्रह गरेको हो।

‘मिति २०८३ भदौ २१ गते बिहान करिब ३:३० बजे चुमनुव्री गाउँपालिका–४, नामरुङस्थित थेराङखोलामा बाढी आई चुमनुव्री गाउँपालिका-४ र २ जोड्ने फलामे पुल र गापदेखि नामरुङ जंगल जाने बूढीगण्डकी नदीको झोलुंगे पुल समेत बगाएकोले मनास्लु पदमार्ग अथवा लार्केपास पदमार्ग यात्राको तयारी अवस्था वा यात्रामा रहनुभएका पदयात्रीहरूले अर्को सूचना प्रकाशित नहुँदासम्म पदयात्रा नगर्नु नगराउनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,’ प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।

प्रकाशित मिति : September 6, 2026 at 3:17 pm


