१९ भदौ २०८३, शुक्रबार | Fri Sep 4 2026

एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख सहयोग

१९ भदाै, काठमाडौं । हालै आएको बाढीबाट प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति एफवानसफ्ट ग्रुपले सहानुभूति व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग गरेको छ । एफवानसफ्ट ग्रुपअन्तर्गतका इसेवा, फोनपे, एफवानसफ्ट इन्टरनेशनल, इसेवा मनि ट्रान्स्फर तथा समूहअन्तर्गतका कम्पनीका कर्मचारीहरूको संयुक्त पहलमा उक्त रकम सहयोग गरिएको हो ।

कम्पनीका अनुसार बाढी प्रभावितसँग ऐक्यबद्धता जनाउँदै राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनी र कर्मचारीहरूको संयुक्त प्रयासमा सहयोग गरिएको हो । यसैगरी, फोनपे र इसेवामार्फत व्यक्तिगत रूपमा बाढीपीडितका लागि सहयोग गर्ने प्रयोगकर्ताहरूप्रति पनि एफवानसफ्ट ग्रुपले आभार व्यक्त गरेको छ । हालसम्म इसेवाका १ लाख २९ हजार १३ जना प्रयोगकर्ताले ९ करोड ७० लाख रुपैयाँ सहयोग गरेका छन् ।

त्यस्तै, फोनपेमार्फत ८ लाख ६२ हजार ४४५ जना प्रयोगकर्ताले २ अर्ब १९ करोड रुपैयाँ सहयोग गरेको कम्पनीले जनाएको छ । फोनपेमार्फत प्राप्त सहयोगमा अन्तर्राष्ट्रिय योगदानसमेत समावेश छ । भारतबाट एनपीसीआई–इन्टिग्रेटेड पेमेन्टमार्फत १९ हजार ८५८ जना प्रयोगकर्ताले ४ करोड २२ लाख रुपैयाँ तथा चीन र दक्षिणपूर्वी एसियाबाट अलिपेमार्फत २ हजार ९६५ जना प्रयोगकर्ताले १ करोड ६३ लाख रुपैयाँ सहयोग गरेका छन् ।

एफवानसफ्ट ग्रुपले बाढीबाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति सहानुभूति व्यक्त गर्दै कठिन परिस्थितिबाट अघि बढ्न सबैमा साहस, धैर्य र हौसला मिलोस् भन्ने कामना गरेको छ । साथै, प्रभावित क्षेत्रमा निरन्तर खटिएर उद्धार, राहत तथा सहयोगमा जुटिरहेका सरकारी निकाय, स्वयंसेवक, विभिन्न संघसंस्था तथा व्यक्तिहरूप्रति पनि ग्रुपले आभार व्यक्त गरेको छ ।

प्रकाशित मिति : September 4, 2026 at 3:28 pm