१८ भदौ २०८३, बिहिबार | Thu Sep 3 2026

विशाल ग्रुपद्वारा विपद् राहत कोषमा २ करोड ५१ लाख सहयोग

१८ भदाै, काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेपछि विशाल ग्रुपले राहत तथा पुनर्स्थापना कार्यका लागि आर्थिक तथा सामग्री सहयोग घोषणा गरेको छ ।

बाढीमा आफन्त गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै ग्रुपले प्रभावित सबैप्रति ऐक्यबद्धता जनाएको छ । साथै, बाढीबाट घाइते तथा प्रभावित भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले विशाल ग्रुपले प्रधानमन्त्री विपद् राहत कोषमा २ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ ।

त्यस्तै, ग्रुपको सामाजिक उत्तरदायित्व निकाय भीजी फाउन्डेसनमार्फत बाढी प्रभावितका लागि १ करोड रुपैयाँ बराबरका अत्यावश्यक सामग्रीसहित ५ हजार बक्स उपलब्ध गराइने भएको छ । राहत प्याकेजमा प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, दैनिक उपभोग्य वस्तु तथा सरसफाइका सामग्री समावेश हुने जनाइएको छ ।

यसका अतिरिक्त, विशाल ग्रुपले बाढी प्रभावितका लागि २ हजार थान कम्बल र १ हजार थान शल समेत सहयोग गर्ने भएको छ । विशाल ग्रुप र भीजी फाउन्डेसनले आर्थिक तथा सामग्री राहतमार्फत विपद्को समयमा प्रभावित समुदायसँगै उभिने र प्राकृतिक विपद्पछिको उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

प्रकाशित मिति : September 3, 2026 at 3:56 pm