विपद् प्रभावितका लागि ह्वासिया इन्भेस्टमेन्टको २० लाख सहयोग
१६ भदाै, काठमाडाैं । विपद् प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले ह्वासिया इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले २० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीका प्रतिनिधि डेभिड यीङले उद्योगमन्त्री गौरी यादवलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत विपद् प्रभावित नागरिकको राहत तथा उद्धारमा प्रयोग गरिने जनाइएको छ।

चेक हस्तान्तरणपछि उद्योगमन्त्री यादवले विपद्को कठिन घडीमा मानवीय भावनासहित सहयोग उपलब्ध गराएकोमा ह्वासिया इन्भेस्टमेन्ट कम्पनीप्रति धन्यवाद व्यक्त गरिन्। उनले प्राप्त रकम राहत तथा उद्धार कार्यमा सदुपयोग हुने विश्वास दिलाउँदै संकटका बेला निजी क्षेत्र, संघसंस्था तथा विभिन्न साझेदारबाट प्राप्त सहयोगले सरकारी अभियानलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन्।
मन्त्री यादवका अनुसार विपद् प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने, उद्धारलाई प्रभावकारी बनाउने तथा आवश्यक सहयोग परिचालन गर्ने कार्यमा सरकार सक्रिय रहेको छ। ह्वासिया इन्भेस्टमेन्ट कम्पनीले उपलब्ध गराएको सहयोगसमेत सरकारी राहत कोषमार्फत प्रभावित नागरिकसम्म पुर्याइनेछ।
प्रकाशित मिति : September 1, 2026 at 1:39 pm


