१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

रसुवा बाढीले बगाएको पैसा राख्ने सेफ फोडेर ९२ लाख ६८ हजार चोरी गर्ने २१ जना पक्राउ

१३ भदाै, धादिङ । रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको पैसा राखिएको सेफ फेला पारी तोडफोड गरेर नगद चोरी गरेको आरोपमा धादिङ प्रहरीले २१ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार यही भदौ १२ गते रसुवाको भोटेकोशीमा आएको बाढीले बगाई ल्याएको पैसा राख्ने सेफ गल्छी गाउँपालिका–४ बेल्खुखाेलास्थित त्रिशूली नदीको किनारमा फेला परेको थियो। स्थानीय मानिसहरूले उक्त सेफ तोडफोड गरी पैसा चोरी गरेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले तत्काल खोजतलास तथा अनुसन्धान अघि बढाएको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले २१ जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनीहरूको साथबाट नगद ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकामध्ये गल्छी गाउँपालिका–४ मासटार बस्ने २७ वर्षीय पवन पौडेल, ४१ वर्षीय बिरेन्द्र राना मगर, ३५ वर्षीय विनोद गिरी, ३३ वर्षीय नवराज भेटुवाल, ४० वर्षीय पूर्ण लाल श्रेष्ठ, ३९ वर्षीय विष्णुमणि अधिकारी, ३६ वर्षीय कृष्ण मगर, ४१ वर्षीय शिव ब. राना मगर, ४६ वर्षीय युवराज अधिकारी, गल्छी–६ आदमघाट बस्ने ४७ वर्षीय कुशान्त श्रेष्ठ, गल्छी–४ मास्टर बस्ने ४६ वर्षीय सुचिन ब. राना मगर, २४ वर्षीय सविन श्रेष्ठ, ४३ वर्षीय प्रेम ब. राना मगर र २९ वर्षीय अनिल भेटुवाल लगायतलाई नियन्त्रणमा लिएको जनाएको छ।

यस्तै, प्रहरीले अनुसन्धानका क्रममा थप व्यक्तिहरूलाई समेत नियन्त्रणमा लिएको छ। घटनासँग सम्बन्धित अन्य सम्भावित व्यक्तिहरूको खोजी तथा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

बरामद रकमबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ।

प्रकाशित मिति : August 29, 2026 at 12:14 pm