बाढी प्रभावित क्षेत्रका ऋणीलाई कर्जा पुनर्तालिकीकरण र भुक्तानीमा सहजीकरण गर्ने सिबिफिनको प्रतिबद्धता
११ भदाै, काठमाडाैं । नेपाल बैंकर्स संघ (सिबिफिन)ले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित व्यक्ति, व्यवसाय तथा परियोजनालाई आवश्यक बैंकिङ सहजीकरण उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। सिबिफिनले बाढीमा परी ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता नागरिक, सुरक्षाकर्मी तथा बैंक तथा वित्तीय संस्थाका कर्मचारीको शीघ्र खोजी तथा उद्धारको अपेक्षा गर्दै उद्धार तथा राहत कार्यमा खटिएका सम्पूर्ण निकाय र व्यक्तिप्रति सम्मान व्यक्त गरेको छ।
बाढीले बैंक तथा वित्तीय संस्थाका शाखा तथा अन्य बैंकिङ पूर्वाधार, मानवीय बस्ती, जलविद्युत् आयोजना, सडक, पुल, व्यापारिक प्रतिष्ठान तथा केरुङ नाकाबाट भित्रिएका मालवस्तु र सवारीसाधनमा समेत ठूलो क्षति पुर्याएको सिबिफिनले जनाएको छ।
प्रभावित क्षेत्रमा जलविद्युत्, व्यापार, पर्यटन, पूर्वाधारलगायत विभिन्न व्यवसायमा बैंक तथा वित्तीय संस्थाको उल्लेख्य कर्जा तथा लगानी रहेकाले बाढीको प्रभाव ऋणी, व्यवसाय, बैंकिङ सेवा तथा समग्र आर्थिक गतिविधिमा पर्न सक्ने सिबिफिनको भनाइ छ।

सिबिफिनका अनुसार विपद्को समयमा मानवीय उद्धार तथा राहतसँगै कर्मचारी र ग्राहकको सुरक्षा पहिलो प्राथमिकता हो। प्रभावित क्षेत्रमा ग्राहकको बैंकिङ पहुँचलाई यथाशीघ्र सहज र प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाले वैकल्पिक सेवा प्रवाहसहित आवश्यक व्यवस्था गरिरहेका छन्।
वास्तविक रूपमा प्रभावित व्यक्ति, व्यवसाय तथा परियोजनाको क्षतिको यथार्थ मूल्याङ्कन गरी आवश्यकताअनुसार कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना, किस्ता र ब्याज भुक्तानीमा सहजीकरण गरिने सिबिफिनले जनाएको छ। साथै, व्यवसाय पुनःसञ्चालन तथा पुनर्निर्माणका लागि उपयुक्त सहयोग उपलब्ध गराउन सदस्य संस्थाका सञ्चालक समितिमार्फत आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
सिबिफिनले नेपाल सरकार र नेपाल राष्ट्र बैंकसँग समन्वय गरी प्रभावित क्षेत्रका लागि आवश्यक नीतिगत तथा कार्यगत उपाय अवलम्बन गर्नसमेत पहल गर्ने जनाएको छ। राष्ट्रिय विपत्तिको सामना सामूहिक प्रयासबाट मात्रै सम्भव हुने भन्दै सिबिफिनले उद्धार, राहत, पुनःस्थापना तथा आर्थिक पुनरुत्थानका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक र सम्बन्धित निकायसँग सहकार्य गर्न सम्पूर्ण बैंक तथा वित्तीय क्षेत्र तयार र प्रतिबद्ध रहेको जनाएको छ।
यस्तै प्रभावित परिवार, व्यवसाय तथा समुदायलाई यथाशीघ्र सामान्य अवस्थामा फर्काउन संघीय, प्रदेश तथा स्थानीय सरकारले अघि बढाएका प्रयासमा हातेमालो गर्दै एकताबद्ध रूपमा परिचालित हुन सिबिफिनले सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई अपिल गरेको छ।
प्रकाशित मिति : August 27, 2026 at 4:58 pm



