एक वर्षमा २३ खर्ब ६३ अर्ब रेमिट्यान्स भित्रियाे
१० भदाै, काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा विप्रेषण आप्रवाह ३७.१ प्रतिशतले वृद्धि भई २३ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असारमा मात्रै २ खर्ब ४२ अर्ब ३३ करोड रुपैयाँ विप्रेषण नेपाल भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ विप्रेषण आएको थियो।
अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाह उल्लेख्य बढेको छ। समीक्षा वर्षमा डलरमा विप्रेषण आप्रवाह २८.१ प्रतिशतले वृद्धि भई १६ अर्ब १९ करोड अमेरिकी डलर पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १६.३ प्रतिशतले बढेको थियो।
यसैगरी, समीक्षा वर्षमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर २५ खर्ब ८१ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आय १८ खर्ब ७४ अर्ब ३० करोड रुपैयाँ रहेको थियो। वैदेशिक रोजगारीतर्फ भने नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या घटेको छ। समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४ लाख ६ हजार ५१९ रहेको छ। अघिल्लो वर्ष यस्तो सङ्ख्या ५ लाख ५ हजार ९५७ थियो।
तर, पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या भने बढेर ३ लाख ८५ हजार ७८३ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३ लाख ३३ हजार ३०९ रहेको थियो।
प्रकाशित मिति : August 26, 2026 at 5:35 pm



