नेपाल बैंकको अटो लोन योजना सार्वजनिक, ४.९४ प्रतिशतमै कर्जा पाइने
९ भदाै, काठमाडौं । नेपाल बैंक लिमिटेडले नाडा अटो शोलाई लक्षित गर्दै अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले जुनसुकै ब्रान्डको सवारीसाधन खरिदका लागि सहुलियतपूर्ण ब्याजदर र अतिरिक्त सुविधासहितको कर्जा योजना ल्याएको जनाएको हो।
बैंकका अनुसार योजनाअन्तर्गत ग्राहकले बैंकबाट अटो कर्जा लिएर जुनसुकै ब्रान्डको सवारीसाधन खरिद गर्दा बैंकको आधार दरमा ०.४९ प्रतिशत मात्रै थप हुने ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । बैंकको आधार दर ४.४५ प्रतिशत रहेको छ । यस हिसाबमा अटो लोन लिन चाहने ग्राहकले ४.९४ प्रतिशतमै कर्जा पाउने छन् ।

योजनाअन्तर्गत कर्जा प्रशासनिक शुल्क पनि सहुलियतपूर्ण बनाइएको छ । सामान्य शुल्कको सट्टा ग्राहकले ०.५ प्रतिशत मात्र सेवा शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । यस्तै, उक्त अटो कर्जा उपभोग गर्ने ग्राहकले कुनै अतिरिक्त शुल्क नलाग्ने गरी तीन लाख रुपैयाँसम्मको लाइफटाइम क्रेडिट कार्ड सुविधा पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकले नाडा अटो शोका अवसरमा ग्राहकलाई सवारीसाधन खरिद सहज बनाउन र वित्तीय सुविधा थप आकर्षक बनाउन यो योजना ल्याइएको जनाएको छ ।
प्रकाशित मिति : August 25, 2026 at 11:46 am


