९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

अटोमोबाइल क्षेत्रलाई हेर्ने सरकारी दृष्टिकोण परिवर्तन हुनुपर्छः अध्यक्ष श्रेष्ठ

९ भदौ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोणमा आमूल परिवर्तनको खाँचो रहेको बताएका छन् । मंगलबार नाडा अटो शो-२०२६ को उद्घाटन कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन् । अध्यक्ष श्रेष्ठले मुलुकमा उद्योगी तथा व्यवसायीहरुको मनोबल इतिहासकै कमजोर अवस्थामा पुगेको बताएका छन् ।

उनका अनुसार, सरकारले बजेटमा लिएको लक्ष्य कार्यान्वयनमा कमजोर देखिएको छ । उनले मुलुकको अर्थतन्त्रको रिइन्जिनियरिङ गर्नुपर्ने आवश्यकता रहेको बताए ।  सरकारले आगामी ५ देखि ७ वर्षमा प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउने लक्ष्य राखेको सन्दर्भमा अध्यक्ष श्रेष्ठले यसका लागि सबै पक्षले गम्भीर भएर सोच्नुपर्ने बताए ।

dainiki.com

श्रेष्ठले अटोमोबाइल क्षेत्रले देशको कुल राजस्वमा करिब ८ देखि ९ प्रतिशत योगदान पुर्याइरहेको उल्लेख गरे । गत वर्ष १०६ खर्बको आयात हुँदा अटो क्षेत्रबाट मात्रै ८१ देखि ८२ अर्ब रुपैयाँ राजस्व संकलन भएको बताउँदै उनले यति ठूलो योगदान दिने क्षेत्रलाई केवल विलासिता  कर उठाउने माध्यमका रूपमा मात्र हेर्नु दुःखद रहेको बताए ।

सरकारले २०–३० वर्षदेखि बन्द रहेका उद्योगहरू पुनः सञ्चालन गर्ने कुरा गरिरहेका बेला अध्यक्ष श्रेष्ठले वर्तमानमा चलिरहेका र निजी क्षेत्रले लगानी गरेका उद्योगहरूको संरक्षण प्राथमिकतामा पर्नुपर्ने बताए ।

प्रकाशित मिति : August 25, 2026 at 11:34 am