एडिलेडमा तीज तयारी: `दर´ सहित गायिका रचना रिमालको विशेष सांगीतिक प्रस्तुति
एडिलेड (अष्ट्रेलिया) — एडिलेडमा बसोबास गर्ने नेपाली नेपाली समुदायका लागि एनआरएनएले भव्य हरितालिका तीज उत्सव आयोजना गर्ने भएको छ ।
एनआरएनए नारी निकुञ्ज साउथ अष्ट्रेलियाको आयोजनामा ‘हरितालिका तीज २०२६’ विशेष सांस्कृतिक साँझ आयोजना हुन लागेको हो।
नेपाली सङ्गीत आकाशकी चर्चित र लोकप्रिय गायिका रचना रिमालको प्रमुख सांगीतिक प्रस्तुति रहने यस कार्यक्रमले प्रवासमा नेपाली कला, संस्कृति र परम्परालाई थप प्रवर्द्धन गर्ने विश्वास लिइएको छ।
रिमालले `फोटो फिरिममा’, ‘मिनरल वाटर’, ‘उनको प्रीति’, ‘आयौं चेली’, ‘भन साइँला’, ‘सम्झिनी पानी छम्किनी’ र ‘चाहन्छु’जस्ता चर्चित गित नेपाली संगित आकाशलाई दिनु भएको छ ।
अगस्ट २९, २०२६ (शनिबार) का दिन आयोजना हुने यस वृहत् तीज उत्सवमा सहभागी हुन चाहने सम्पूर्ण आम सर्वसाधारणका लागि प्रवेश पूर्ण रूपमा निःशुल्क राखिएको छ।
प्रवासमा रहेर पनि आफ्नो मौलिक चाडपर्वलाई आत्मीय रूपमा मनाउनका लागि सहभागी हुन आउने दिदीबहिनी तथा पाहुनाहरूका लागि निःशुल्क ` दर ´को समेत विशेष व्यवस्था गरेको छ।
कार्यक्रम स्थानिय क्लोभेली पार्कस्थित ‘४०–५० योर्क एभिन्यु’ (40–50 York Avenue, Clovelly Park SA 5042) मा साँझ ५:०० बजेदेखि राती १०:०० बजेसम्म सञ्चालन हुनेछ।
यस वर्षको तीज कार्यक्रममा आकर्षणका रूपमा बम्पर र्याफल ड्र (Raffle Draw) राखिएको छ, जसमा भाग्यशाली विजेताहरूले आकर्षक सुनका गहनाहरू उपहार स्वरूप प्राप्त गर्नेछन्।
एनआरएनए नारी निकुञ्ज साउथ अष्ट्रेलियाकी संयोजक तारा चौधरीले यस वृहत् सामुदायिक कार्यक्रमलाई सफल बनाउन एडिलेडमा रहेका सम्पूर्ण नेपाली संघ-संस्था, व्यावसायिक प्रतिनिधि, सञ्चारकर्मी, दिदीबहिनी तथा आमा-बुबाहरूलाई आफ्नो परिवार र साथीभाइका साथ उपस्थित भई तीझको रौनकतालाई सँगै मनाउन हार्दिक निमन्त्रणा गर्नुभएको छ।
गीत, संगीत, स्वादिलो नेपाली खाना, परम्परागत पहिरन र सांस्कृतिक झाँकीहरूले भरिपूर्ण रहने यस साँझले एडिलेडको नेपाली समुदायलाई एकता र भ्रातृत्वको सूत्रमा बाँध्न महत्त्वपूर्ण भूमिका खेल्ने उहाको विश्वास रहेको छ ।
प्रकाशित मिति : August 24, 2026 at 7:27 pm


