तीन वर्षमै देशभर चिनिँदै किस्पाङको प्राविधिक शिक्षालय
८ भदौ, नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिकाले सञ्चालन गरेको किस्पाङ बहुप्राविधिक शिक्षालय प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । गाउँपालिकाले सुलभ शुल्कमा स्वास्थ्यसम्बन्धी प्राविधिक शिक्षा उपलब्ध गराएपछि शिक्षालयमा सातै प्रदेशका विभिन्न जिल्लाबाट विद्यार्थी आएर अध्ययन गर्न थालेका छन्।
शिक्षालयमा शैक्षिक सत्र २०८३/८४ का लागि ‘डिप्लोमा इन फार्मेसी’ र सामान्य चिकित्सातर्फ ४०/४० जनाको कोटा निर्धारण गरिएकोमा दुवै कार्यक्रमको कोटा पूर्ण भएको छ । ८० स्थानका लागि ९८ जनाको आवेदन परेको शिक्षालयले जनाएको छ।

गत तीन वर्षदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)को सम्बन्धनमा सञ्चालन हुँदै आएको शिक्षालयमा स्थापना भएयता हरेक शैक्षिक सत्रमा निर्धारित कोटामा विद्यार्थी भर्ना हुँदै आएका छन्। शिक्षालयका प्रमुख विनोद न्यौपानेका अनुसार हाल सातै प्रदेशका ३६ जिल्लाका विद्यार्थी यहाँ अध्ययनरत छन्। अध्ययनरत २४२ विद्यार्थीमध्ये नुवाकोटका ७८ र अन्य जिल्लाका १६४ जना छन्।
“सातै प्रदेशका ३६ जिल्लाका विद्यार्थी एउटै शिक्षालयमा अध्ययन गरिरहेको अवस्था सम्भवतः देशकै विशिष्ट उदाहरण हो,” न्यौपानेले भने, “किस्पाङजस्तो ग्रामीण तथा पर्यटकीय क्षेत्रमा गुणस्तरीय प्राविधिक शिक्षा सुलभ शुल्कमा उपलब्ध गराउन सकिएकाले विद्यार्थीको आकर्षण बढेको हो।”
किस्पाङ गाउँपालिका–३, काहुलेमा २०८० सालमा स्थापना भएको शिक्षालयले पहिलो वर्ष सम्बन्धन प्रक्रियामा भएको ढिलाइका कारण डिप्लोमा इन फार्मेसीमा मात्रै विद्यार्थी भर्ना गरेको थियो। त्यसपछि दोस्रो शैक्षिक सत्रदेखि सामान्य चिकित्सा र डिप्लोमा इन फार्मेसी दुवै कार्यक्रम सञ्चालनमा आए। दोस्रो र तेस्रो ब्याचमा दुवै कार्यक्रमको निर्धारित कोटा पूर्ण भएको शिक्षालयका प्रमुख न्याैपानेले बताए ।

एक लाख ९५ हजारमै प्राविधिक शिक्षा
किस्पाङ बहुप्राविधिक शिक्षालयको अर्को आकर्षण यसको शुल्क हो। गाउँपालिकाले सञ्चालन गरेको शिक्षालयले सामान्य चिकित्सा र डिप्लोमा इन फार्मेसी अध्ययनका लागि कुल एक लाख ९५ हजार रुपैयाँ मात्रै शुल्क लिँदै आएको छ।
ग्रामीण क्षेत्रमै तुलनात्मक रूपमा सस्तो शुल्कमा स्वास्थ्यसम्बन्धी प्राविधिक शिक्षा उपलब्ध भएपछि आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीका लागि पनि शिक्षालय उपयोगी बन्दै गएको छ।

गाउँपालिकाले स्वास्थ्यतर्फको बहुप्राविधिक शिक्षालय आफैँ सञ्चालन गर्ने देशकै पहिलो स्थानीय तह आफूहरू भएको दाबी गरेको छ। शिक्षालयको उद्देश्य प्राविधिक जनशक्ति उत्पादनसँगै स्थानीयस्तरमै रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्नु रहेको गाउँपालिकाले जनाएको छ।
किस्पाङ बन्दैछ शैक्षिक पर्यटनको गन्तव्य
प्राविधिक शिक्षालय सञ्चालनसँगै किस्पाङमा विद्यार्थीको आवागमन बढेको छ। बाहिरी जिल्लाबाट आएका अधिकांश विद्यार्थी शिक्षालयकै छात्रावासमा बसेर अध्ययन गरिरहेका छन् भने केही विद्यार्थी शिक्षालय आसपासका बजार क्षेत्रमा डेरा लिएर बस्ने गरेका छन्।
यसले किस्पाङलाई पर्यटनसँगै शैक्षिक गन्तव्यका रूपमा समेत विकास गर्ने आधार तयार भएको गाउँपालिकाको विश्वास छ। शिक्षालयमा अध्ययन गर्न आउने विद्यार्थीका कारण स्थानीय बजार, आवास, खानपान तथा अन्य सेवामूलक व्यवसायमा समेत गतिविधि बढ्न थालेको स्थानीयको भनाइ छ।
नयाँ शैक्षिक सत्रका लागि भर्ना भएका विद्यार्थीको स्वागतमा शिक्षालयले आइतबार सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा राष्ट्रिय कलाकार थानेश्वर गौतम तथा विद्यार्थीले गीत, नृत्यलगायत प्रस्तुति दिएका थिए । कार्यक्रममा सहभागी जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाले शिक्षालय स्थापना हुँदाका चुनौती र छोटो समयमै हासिल भएको प्रगतिबारे चर्चा गरेका थिए।
गाउँका विद्यार्थी बाहिर जाने होइन, बाहिरका विद्यार्थी गाउँ आउन थाले
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेसका सहमहामन्त्री बहादुरसिंह लामाले शिक्षालयले प्राविधिक जनशक्ति उत्पादनसँगै किस्पाङलाई समृद्धिको केन्द्रका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताए।

“पहिला गाउँका विद्यार्थी अध्ययनका लागि सहर र अन्य ठाउँमा जान्थे। अहिले अन्य जिल्लाबाट विद्यार्थी किस्पाङमा पढ्न आउन थालेका छन्,” उनले भने, “यो किस्पाङका लागि मात्रै होइन, समग्र स्थानीय तहका लागि पनि सकारात्मक सन्देश हो।”
प्रदेशसभाका पूर्वसदस्य एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य हिरानाथ खतिवडाले शिक्षालयको विकासका लागि आफूहरू निरन्तर सहयोग गर्न तयार रहेको बताए।
गाउँपालिकाका कार्यवाहक अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले लामो मेहनत र प्रयासपछि शिक्षालय स्थापना गर्न सफल भएको बताए। “शिक्षालय स्थापना गर्नु आफैँमा चुनौतीपूर्ण थियो। अहिले नियमित रूपमा कोटा पूर्ण हुने गरी विद्यार्थी भर्ना हुनु हाम्रो प्रयासको परिणाम हो,” उनले भने।

गाउँपालिकाका पूर्व अध्यक्ष छत्रबहादुर लामाले शिक्षालयको विकास र विस्तारको लागि सबै राजनीतिक पार्टीको समन्वय र सहयोग रहेको बताउँदै । अब पनि सबैको सहयोगमा नर्सिङ लगायतको कार्यक्रम थप गर्नुपर्ने बताए ।
विदुर नगरपालिका वडा नम्बर ७ मा अवस्थित चण्डेश्वरी माविका पूर्व प्रधानाध्यापक हरि रिजालले कुनै समयको सबैभन्दा विकट मनिने किस्पाङ नै शैक्षिक गन्तव्य बन्दै गएको देशभरबाट विद्यार्थी खुशीले पढ्न आएको देखेर खुशी लागेको बताए ।
भवन र प्रयोगशालामा लगानी बढाउँदै गाउँपालिका
शिक्षालयको भौतिक पूर्वाधार विस्तारमा पनि गाउँपालिकाले प्राथमिकता दिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सहरी विकास मन्त्रालयबाट भवन निर्माणका लागि तीन करोड रुपैयाँ प्राप्त भएको थियो।
आर्थिक वर्ष २०८२/८३ मा पनि सोही मन्त्रालयले थप तीन करोड रुपैयाँ विनियोजन गरेपछि शिक्षालयको आफ्नै जग्गामा नयाँ भवन निर्माण भइरहेको छ।
“क्रमशः गाउँपालिकाले बजेट बढाउँदै प्रयोगशालासहित आवश्यक पूर्वाधार विकास गर्दै शिक्षालयलाई नमुना बनाउने योजना छ,” खतिवडाले भने।
शिक्षालयको भौतिक संरचना विस्तारसँगै आधुनिक प्रयोगशाला, पर्याप्त कक्षाकोठा, छात्रावास तथा अन्य आवश्यक पूर्वाधार विकास गर्न सकेमा देशका विभिन्न जिल्लाबाट अझै ठूलो संख्यामा विद्यार्थी आकर्षित गर्न सकिने गाउँपालिकाको अपेक्षा छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता नारायणसिंह लामा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गाउँपालिका कमिटी सभापति शिवप्रसाद भट्टलगायतले प्राविधिक शिक्षाको विकासका लागि राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर साझा रूपमा काम गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा शिक्षालयलाई सम्बन्धन दिलाउने प्रक्रियामा समन्वय र सहजीकरणमार्फत महत्वपूर्ण सहयोग पुर्याउने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जनसम्पर्क सल्लाहकार एवं नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बुद्धि जिसी, दैनिकीका प्रधानसम्पादक माधवप्रसाद तिवारी र राससका वरिष्ठ संवाददाता प्रकाश सिलवालको योगदानको समेत चर्चा गरिएको थियो।
तीन वर्षको छोटो अवधिमै सातै प्रदेशका विद्यार्थीलाई आकर्षित गर्न सफल किस्पाङ बहुप्राविधिक शिक्षालयले स्थानीय सरकारको पहलमा ग्रामीण क्षेत्रमा समेत गुणस्तरीय र सुलभ प्राविधिक शिक्षा विस्तार गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ।

प्रकाशित मिति : August 24, 2026 at 7:46 am


