शंखमुलको होस्टेलमा युवकको हत्यामा संलग्न आरोपमा ३ जना पक्राउ
७ भदौ, काठमाडौं । काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टेलमा धारिलो हतियार प्रहार गरी युवकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा, कलैया उपमहानगरपालिका–३ घर भई भ्याली ब्वाइज होस्टेलमा बस्दै आएका १९ वर्षीय प्रमित पटेल, महोत्तरी, लोहरपट्टी नगरपालिका–६ घर भएका होस्टेल सञ्चालक २३ वर्षीय आलोक ठाकुर र सोही होस्टेलमा बस्ने बारा, कलैया उपमहानगरपालिका–३ का १९ वर्षीय शेखर यादव रहेका छन्।

पटेललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा भैँसेबाट पक्राउ गरिएको हो भने ठाकुरलाई काठमाडौंको बुद्धनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शुक्रबार बिहान करिब १० बजे भ्याली ब्वाइज होस्टेलको कोठा नम्बर १०९ मा बस्दै आएका २२ वर्षीय बसन्त कालाथोकी धारिलो हतियार प्रहारबाट गम्भीर घाइते अवस्थामा होस्टेलको बाहिरी प्यासेजमा फेला परेका थिए।
उपचारका लागि तत्काल निजामती कर्मचारी अस्पताल, मिनभवन पठाइएका कालाथोकीको उपचारका क्रममा शुक्रबार दिउँसो १२ बजे मृत्यु भएको थियो। घटनामा संलग्न आरोपितहरूमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। पक्राउ परेका उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : August 23, 2026 at 5:48 pm


