नागढुंगाबाट ५३ लाखको भन्सार छलीको सामानसहित बस चालक पक्राउ
५ भदौ, काठमाडौं । प्रहरीले नागढुंगाबाट बिल–बीजकबिनाका करिब ५३ लाख रुपैयाँ मूल्य बराबरका मोबाइल, ल्यापटप, कपडा तथा जुत्ता बरामद गरेको छ। भारतको दिल्लीबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसमा लुकाइछिपाइ ल्याइएको अवस्थामा प्रहरीले ती सामान बरामद गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भदौ ४ गते साँझ करिब ४ः४५ बजे चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगा चेक प्वाइन्टमा प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले बा प्र ०३–००१ ख ३५३६ नम्बरको बस जाँच गर्ने क्रममा ठूलो परिमाणमा भन्सार छलीका सामान फेला पारेको थियो।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा बस चालक उदयपुरको सोरुङ छबिसे–७ तथा हाल कटारी नगरपालिका–११ बस्ने ३४ वर्षीय पविन्दर राना मगरलाई नियन्त्रणमा लिएको जनाएको छ। उक्त बसबाट विभिन्न ब्रान्डका मोबाइल फोन २ सय ७२ थान रहेका छन्। तीमध्ये आईफोन २१, सामसुङ ४९, भीभो ७५, मोटोरोलो १९, रेडमी ३९, वनप्लस १३, ओप्पो ३४, पोको ७, इन्फिनिक्स ३, आईगू ३, पोभा २, टेक्नो ३ लगायतका मोबाइल छन्।
त्यसैगरी प्रहरीले ६ थान ल्यापटप, ५ थान ल्यापटप चार्जर र ५ सय १३ थान टेम्पर ग्लास पनि बरामद गरेको छ। कपडातर्फ १७ थान साडी, २१ थान जिन्स पाइन्ट, ३७ थान कुर्था–सुरुवाल तथा १५ जोर जुत्ता फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सबै सामानको प्रारम्भिक मूल्य करिब ५३ लाख रुपैयाँ रहेको छ।
बरामद सामानसहित उनलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको छ।
प्रकाशित मिति : August 21, 2026 at 2:46 pm


