५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सीईओ पाण्डे ८० लाख धरौटीमा रिहा

५ भदाै, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे धरौटीमा रिहा भएका छन् । स्मार्ट सेलको लिलामी प्रक्रियामा अनियमितता गरेको आरोपमा पक्राउ परेका पाण्डेलाई जिल्ला अदालत काठमाडौँले ८० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलकान्त जोशीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको मागअनुसार सोही बराबरको बैंक ग्यारेन्टी बुझाएर पाण्डे रिहा भएका छन् ।

स्मार्ट टेलिकमको अनुमतिपत्र खारेज भएपछि सरकारी स्वामित्वमा आउनुपर्ने उपकरणहरू बैंकले गैरकानुनी रूपमा लिलाम गरी एनसेललाई बेचेको आरोपमा पाण्डेसहितलाई प्रतिवादी बनाइएको थियो । प्रहरीको सीआईबीले यस प्रकरणमा ४ अर्ब ६० करोड बिगो कायम गर्दै ठगी, संगठित अपराध र बैंकिङ कसुरमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : August 21, 2026 at 2:13 pm