५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की नियुक्त

५ भदौ,  काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की नियुक्त भएका छन्। नेपाल सरकार मन्त्रिपरिषद्ले  उदयपुरका स्थायी बासिन्दा कार्कीलाई नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा (१) बमोजिम कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट निवृत्त भएका कार्की यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशक रहिसकेका छन् । उनी २०८० माघ ३ गते कोषको कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाबाट छनोट भएका थियो ।

कार्कीसँग नेपाल राष्ट्र बैंकका अतिरिक्त नेपाल ग्रामीण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा काम गरेको अनुभव छ ।

उनले अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट मास्टर अफ बैंकिङ एन्ड फाइनान्स (एमबीएफ) गरेका छन् भने त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । कार्कीले केन्द्रीय बैंकिङ, वित्तीय स्थिरता, वित्तीय बजार विश्लेषणलगायत विषयमा अन्तर्राष्ट्रिय तालिमसमेत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : August 21, 2026 at 10:21 am