प्रहरीको हेडक्वार्टर बिचौलियाहरूले कब्जा गरेका छन्ः खगेन्द्र सुनार
४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले विचौलियाहरूले प्रहरी हेडक्वार्टर कब्जा गरेको आरोप लगाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिकाे बैठकमा उनले प्रहरीको स्रोत–साधन खरिद प्रक्रियामा अनियमितता भइरहेको आरोप लगाउँदै निश्चित बिचौलियाले प्रहरी प्रधान कार्यालय नै कब्जा गरेको दाबी गरेका हुन्।
उनले प्रहरीको स्रोत साधन खरिदको विषयमा भएको जानकारी अहिलेसम्म आयो कि आएन भनेर प्रश्न गरेका छन् । उनले अघिल्लो बैठकमा आफूले गरेकाप्रश्नहरूमा अहिले पनि दृढ रहेको उल्लेख गर्दै कसैलाई मानमर्दन भएको लागे अदालतमा गएर मुद्दा हाल्न समेत चुनौती दिका छन् ।
‘हामीले १५ दिन भित्र प्रहरीको स्रोत साधन खरिदको विषयमा जानकारी पेश गर्न भनेका थियौं । त्यो आयो कि आएन ? फेरि यो बीचमा प्रहरीले करोडौंको टेन्डर आह्वान गरेको छ । निश्चित बिचौलियाले प्रहरीको हेडक्वाटर कब्जा गरेका छन्’ सांसद सुनारले भने ‘अस्ती गरेको प्रश्नमा म अडिग छु । मजबुत छु । कहिँ कोही साथीहरूलाई मानमर्दन भयो भन्ने लाग्छ भने उतापट्टी अदालत छ गएर मुद्दा हाल्नुहोला कठघरामा उभिएर जवाफ दिन तयार छु । ’
प्रकाशित मिति : August 20, 2026 at 1:23 pm


