३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

त्रिविको एमबीएस प्रश्नपत्र चुहावट प्रकरणः शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा

२ भदौ , काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा अगावै तथा परीक्षा सञ्चालन भइरहेका बेला बाहिरिएको प्रकरणमा सात जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। सरकारी वकिलको कार्यालयले शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा शिक्षक र विद्यार्थी गरी सात जनालाई प्रतिवादी बनाएर अभियोगपत्र दायर गरेको हो।

साे प्रकरणमा भक्तपुरको मध्यपुर थिमि निवासी ३३ वर्षीय सन्दीप सिंहलाई मुख्य अभियुक्त बनाइएको छ। सिंह काठमाडौंको बागबजारस्थित केएमसी कलेज र कोटेश्वरस्थित हिमालय कलेजमा वित्त विषय अध्यापन गराउँदै आएका शिक्षक हुन्। सिंहसँगै विद्यार्थीहरू अतुल कुमार मिश्र, अब्दुल सानी हाकिम, ऋषिकेश प्रसाद यादव, खुश्बु गिरी, देवनाथ महतो र रन्जु कुमारी गिरीलाई पनि प्रतिवादी बनाइएको छ। अभियुक्तमध्ये केही अझै फरार रहेको जनाइएको छ।

साउन ६ गते सञ्चालन भएको ‘म्यानेजमेन्ट–५१५’ र साउन ८ गते भएको ‘स्टाटिस्टिकल मेथड्स’ विषयको एमबीएस प्रथम सेमेस्टर परीक्षाका प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए ।

प्रकाशित मिति : August 18, 2026 at 5:31 pm