२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

केवाईसी अपडेट गरिदिने भन्दै ओटीपी लिएर ठगी गर्ने चार पक्राउ

२ भदौ, काठमाडौं । बैंकबाट बोलेको हुँ भन्दै कल गरेर ओटीपी लिएर ठगी गर्ने चार जनालाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, पश्चिम नवलपरासी रामग्राग नगरपालिका–१६ का २२ वर्षीय जयकुमार केवट, सोही नगरपालिका वडा नंं. १७ का २२ वर्षीय विद्यासागर केवट र पर्साको वीरगञ्ज महानगरपालिका–३ का २७ वर्षीय कुवेर थापा छन् ।

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार पछिल्लो समय बैंकका ग्राहक तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी ‘बैंकबाट बोलेको हुँ, केवाईसी अपडेट गर्नुपर्‍यो’ भन्दै फोन गर्ने र त्यसपछि वाट्सएप कलमार्फत स्क्रिन सेयर गर्न लगाउने गरिएको थियो। ठगी गर्नेहरूले ग्राहकबाट ओटीपी काेड प्राप्त गर्ने वा ओटीपी माग्ने तथा त्यसकै आधारमा खातामा रहेको रकम अन्य खातामा स्थानान्तरण गरी ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेकाविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनधिकृत पहुँच तथा विद्युतीय माध्यमसम्बन्धी ठगी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : August 18, 2026 at 2:56 pm