२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गर्ने ४ जना पक्राउ

२ भदौ, काठमाडौं ।  भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीका विभिन्न स्थानबाट सुनको सिक्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुनको सिक्री लुटपाट गर्ने काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने भोजपुर रामप्रसादराई गाउँपालिका-२ घर भएका ३२ वर्षीय योगेन्द्र तामाङ र काठमाडौं महानगरपालिका-३२ पेप्सिकोला बस्ने रामेछाप दोरम्बा गाउँपालिका-२ ढोईगाउँ घर भएका ३६ वर्षीय काले भन्ने देबेन्द्र थापा मगर तथा चोरी भएको सुन खरिद गर्नेहरू काठमाडौं महानगरपालिका-१८ नरदेवी बस्ने भोजपुर रामप्रसादराई गाउँपालिका-६ मालबासे घर भएका ४० वर्षीय मिलन विक र काठमाडौं महानगरपालिका-१८ भेडासिंह बस्ने भारत कलकत्ता वेष्ट बंगाल घर भएका ४० वर्षीय संजित साम्नत रहेका छन् ।

भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली बिग मार्ट नजिकमा गत असार २६ तथा लोकन्थली हनुमान चोकमा गत असार ३० गते मोटरसाइकलमा सवार अपरिचित २ जना व्यक्तिहरूले पैदल हिँडिरहेका महिला तथा जेष्ठ नागरिकहरूको घाँटीमा लगाएको सुनको सिक्री जबरजस्ती तानी फरार रहेको घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त सातदोबाटो ललितपुर पठाइएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : August 18, 2026 at 1:51 pm