१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

विद्युत् प्राधिकरणको नाफा ३ अर्ब ८७ करोडले घट्यो

१ भदाै, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नाफा पौने ४ अर्ब रुपैयाँभन्दा बढीले घटेको छ । आर्थिक वर्ष २०८२/८३ मा विद्युत् प्राधिकरणको कर अघिको नाफा ३ अर्ब ८७ करोड रुपैयाँले घटेर ५ अर्ब ४ करोड रुपैयाँमा खुम्चिएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा प्राधिकरणले १३ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा गरेको थियो। आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणकाे नाफा ८ अर्ब ९१ करोडमा झरेको थियो।

 प्राधिकरणका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा विदेशी विनिमय दरमा भएको वृद्धिका कारण संस्थाले बेहोर्नुपर्ने दायित्व २७२.८६ प्रतिशतले बढेर ११ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । विदेशी विनिमय दरसँगै बढेको दायित्व, ब्याज र ह्रासकट्टी खर्चका कारण नाफा घटेको दाबी प्राधिकरणले गरेको छ ।

आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले विद्युत् बिक्री र अन्य आम्दानीबाट १ खर्ब ६६ अर्ब रुपैयाँ कुल आम्दानी गरेको छ । जसमध्ये विद्युत् बिक्रीबाट मात्र अघिल्लो आर्थिक वर्षको तुलनामा १८.२० प्रतिशत वृद्धि भई १ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ आम्दानी भएको छ ।

यस्तै कार्यसम्पादन सुधार, विद्युत् चुहावट नियन्त्रण र निर्यात वृद्धिका कारण समग्र कुल नाफा भने १३.१७ प्रतिशतले बढेर ३१ अर्ब २३ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ७।२८ प्रतिशतले वृद्धि भई २४ अर्ब ८१ करोड रुपैयाँ पुगेको जानकारी प्राधिकरणले दिएको छ ।

प्राधिकरणका अनुसार कुल सम्पत्ति ८.९ प्रतिशतले बढेर ७ खर्ब ७९ अर्ब १९ करोड २० लाख रुपैयाँ पुगेको छ । निर्माणाधीन पुँजीगत आयोजनाहरूमा २ खर्ब ६ अर्ब २६ करोड ७० लाख रुपैयाँ लगानी छ भने यस अवधिमा ७४ अर्ब ६ करोड ६० लाख रुपैयाँ पुँजीकरण भएको छ ।

यसैगरी ५ एम्पियरका २५ लाख ८८ हजार ६२४ घरेलु ग्राहकलाई २१ करोड ७३ लाख ३२ हजार १६६ युनिट विद्युत् निःशुल्क उपलब्ध गराइएको प्राधिकरणले उल्लेख गरेको छ । प्राधिकरणको औसत बिक्री दर प्रतियुनिट ९.६८ रुपैयाँ छ भने प्रतिग्राहक औसत खपत बढेर २०८८ युनिट पुगेको छ ।

प्रकाशित मिति : August 17, 2026 at 11:39 am