३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

नाफामा फर्कियो एनआईसी एसिया बैंक, वितरणयोग्य नाफा १४ अर्ब ८६ करोड ऋणात्मक

३१ साउन, काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको आव २०८२/८३ को अपरिस्कृत वित्तीय विवरण अनुसार बैंक नाफामा फर्किए पनि केही महत्त्वपूर्ण सूचकहरूमा भने दबाब कायमै रहेको देखाएको छ ।

बैंकले गत आर्थिक वर्षमा १८ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य सुधार हो । अघिल्लो वर्ष बैंक ३ अर्ब ८७ करोड २० लाख रुपैयाँ खुद नोक्सानीमा रहेको थियो ।

अघिल्लो वर्ष ९ अर्ब ७१ करोड ३८ लाख ६७ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज घटेर गत आर्थिक वर्ष २ अर्ब ९१ करोड ७६ लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ । यद्यपि बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । अघिल्लो वर्ष १० अर्ब १३ करोड ५ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत वर्ष ७ अर्ब ८४ करोड ५० लाख रुपैयाँमा झरेको छ ।  बैंकको निष्क्रिय कर्जा ८.७४ प्रतिशतबाट बढेर ९.२६ प्रतिशत पुगेको छ ।

सञ्चालन नाफामा पनि उल्लेख्य सुधार देखिएको छ । अघिल्लो वर्ष ४ अर्ब ५१ करोड ३ लाख रुपैयाँ ऋणात्मक रहेको सञ्चालन नाफा गत वर्ष ९७ करोड ९१ लाख ८ हजार रुपैयाँ सकारात्मक बनेको छ ।

बैंकको वितरणयोग्य नाफा अझै ऋणात्मक अवस्थामै रहेको छ । समीक्षा अवधिसम्म वितरणयोग्य नाफा १४ अर्ब ८६ करोड ५० लाख २३ हजार रुपैयाँ ऋणात्मक रहेको बैंकले जनाएको छ । १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २५ अर्ब ६५ करोड ३० लाख रुपैयाँ सञ्चित छ ।

बैंक नाफामा पुगेसँगै प्रतिसेयर आम्दानी धनात्मक देखिएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १ रुपैयाँ २२ पैसा र प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ३२ पैसा रहेको छ ।

प्रकाशित मिति : August 16, 2026 at 12:46 pm