३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

४७.५८ प्रतिशतले बढ्यो नेपाल टेलिकमको खुद नाफा, प्रतिसेयर आम्दानी कति ?

३१ साउन, काठमाडाैं । नेपाल टेलिकमले  गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीकाे खुद मुनाफा ४७.५८ प्रतिशतले बढाएर ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ पुर्याएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद मुनाफा ६ अर्ब ६७ लाख रुपैयाँ थियो। कम्पनीको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँले बढेको हो।

आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म कम्पनीले ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ कुल सञ्चालन आय गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँको तुलनामा १ अर्ब ५ करोड ५९ लाख रुपैयाँ अर्थात् ३.१२ प्रतिशत बढी हो।

त्यस्तै, कम्पनीको कुल आय ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल आय ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ थियो। यसअनुसार कुल आय १ अर्ब १ करोड १५ लाख रुपैयाँ अर्थात् २.६५ प्रतिशतले बढेको छ।

 समीक्षा अवधिमा करअघिको मुनाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो मुनाफा ९ अर्ब ८५ करोड २ लाख रुपैयाँ थियो।

यसअनुसार करअघिको मुनाफा ३ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ अर्थात् ३४.६६ प्रतिशतले वृद्धि भएको हो। त्यस्तै, कम्पनीको Earnings Before Interest, Taxes, Depreciation and Amortization (EBITDA) २० अर्ब ४८ करोड १ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिको १८ अर्ब ४९ करोड ६० लाख रुपैयाँको तुलनामा EBITDA १ अर्ब ९८ करोड ४१ लाख रुपैयाँ अर्थात् १०.७३ प्रतिशतले बढेको कम्पनीले जनाएको छ।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ४९.२५ रुपैयाँ रहेको छ। समीक्षा अवधिमा ब्याज आम्दानी करिब ८६ करोड १९ लाख रुपैयाँ अर्थात् २२.८८ प्रतिशतले घटेको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : August 16, 2026 at 9:08 am