२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

होटेल–रेष्टुरेण्टमा बढी ग्यास मौज्दात नगर्न आयल निगमको निर्देशन

२९ साउन, काठमाडाैं । नेपाल आयल निगमले व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न निर्देशन दिएको छ ।

निगमले बिहीबार एक सूचना जारी होटेल, रेष्टुरेण्ट, पार्टी प्यालेस लगायतका व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न निर्देशन दिएको हो ।

निगमले बजारमा १४.२ किलोग्रामको भरि ग्यास सिलिन्डरको आपूर्ति तथा बिक्री वितरण भइरहेको जनाएको छ । निगमका अनुसार गत असार ३१ गतेदेखि बजारमा १४.२ किलोग्रामका भरि सिलिन्डर बिक्री वितरण हुँदै आएको छ । साविकको तुलनामा करिब २० प्रतिशत बढी ग्यास आयात तथा बिक्री वितरण भइरहेको भए पनि सर्वसाधारण उपभोक्ताले बजारमा सहज रूपमा ग्यास पाउन नसकेको गुनासो आएपछि निगमको ध्यानाकर्षण भएको छ ।

निगमको द्रुत प्रतिकार्य डेस्कमा प्राप्त उजुरी तथा सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा कतिपय होटेल, रेष्टुरेण्ट, पार्टी प्यालेस लगायतका व्यावसायिक प्रतिष्ठानमा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात राखिएको पाइएको निगमले जनाएको छ ।

निगमले त्यस्ता प्रतिष्ठानलाई अनावश्यक रूपमा ग्यास सिलिन्डर भण्डारण नगर्न तथा पहिले नै मौज्दात राखिएको भए तत्काल सम्बन्धित डिपोमार्फत सर्वसाधारण उपभोक्तालाई बिक्री वितरण गर्न गराउन निर्देशन दिएको छ ।

प्रकाशित मिति : August 14, 2026 at 1:00 pm